अख्तियारको आयुक्त नियुक्तिमा भागबण्डा अझै मिलेन, ओली, प्रचण्ड, देउवाबाट को को पर्लान् ?

Advertisement

काठमाडौं । संवैधानिक निकायहरुमा सबैभन्दा आकर्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त हुन रस्साकस्सी चलेको छ । वर्तमान प्रमुख आयुक्त नविन घिमिरे यही भदौ २८ गते बिदा हुने भएपछि नयाँ नियुक्तिका लागि प्रमुख दलका शीर्ष नेताहरुबीच भागबण्डा हुन लागेको हो । 

प्रधानमन्त्री केपी ओलीले आफ्नो कोटाबाट पूर्वसचिव प्रेम राई र नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाललाई अघि सारेका छन् भने नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीकै पूर्वडीआईजी केशरी घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीकै पूर्वडिआईजी जयबहादुर (जेबी) चन्दलाई अघि सारेका छन् । 

Advertisement

ओलीका विश्वासपात्र राईलाई महिनौंअघिदेखि अख्तियारमा लाने चर्चा चल्दै आएको छ । अख्तियारमा बसेर काम गरिसकेका र सुरक्षा संयन्त्रसहित अन्य क्षेत्रका सुचनाहरुमा राम्रो जानकार राईलाई अहिले नै प्रमुख आयुक्त बनाउने बाताबरण नबने पछि बनाउनेगरी आयुक्ति नियुक्तिको तयारी भइरहेको छ । 

त्यस्तै, ओलीका अर्का विश्वासपात्रको रुपमा चिनिएका पूर्वआईजीपी सर्वेन्द्र खनालको नाम पनि अख्तियारको आयुक्तको रुपमा चर्चामा आएको छ । केही समयअघि साँसद अपहरण काण्डमा समेत मुछिएका खनाल प्रहरी संगठनभित्र आफ्ना प्रतिस्पर्धीहरुलाई आफ्नो पावर देखाउन भए पनि आयुक्त हुने दौडमा रहेको स्रोतको भनाई छ । प्रहरी संगठनमा हुँदा फेक इन्काउन्टर गर्दै चर्चामा आएको भन्दै उनको आलोचना हुने गरेको थियो । हाल उनी प्रायः प्रधानमन्त्री निवास बालुवाटारतिरै समय बिताउने र प्रधानमन्त्रीले केही गोप्य सुचनाहरु खोजेको बेलामा दिएर सहयोग गर्दै आएको स्रोतको भनाई छ । 

पूर्वडीआईजी केशरी घिमिरे प्रचण्डसँगसमेत नाता जोडिएका व्यक्ति हुन । द्धन्द्ध कालमा माओवादीलाई सहयोग गरेकाले प्रचण्डले अख्तियारको आयुक्त बनाएर उक्त गुन तिर्न लागेको स्रोतको भनाई छ । नाताले उनी पत्रकार युवराज घिमिरेका दाजुभाईसमेत पर्छन् । जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रचण्डको सिफारिसमा प्रदेश ३ को एआईजी रहेका घिमिरे थुप्रै प्रकरणमा मुछिएका थिए । 

देउवाले प्रस्तुत गरेका जेबी चन्द नेपाल प्रहरीको आईजीपी हुन असफल व्यक्ति हुन् । देउवा प्रधानमन्त्री रहेको बेला आईजीपी नियुक्ति भएका चन्दलाई सर्वोच्च अदालतले वरिष्ठता मिचेको भन्दै नियुक्ति बदर गरिदिएको थियो । आईजीपी हुने क्रममा देउवालाई मोटो रकम बुझाएका चन्दले आईजीपी हुन असफल भएपछि आफ्नो रकम फिर्ता माग्दै आएको तर देउवाले अख्तियारको आयुक्ति बनाइदिउँला भन्दै फकाएर राखेको काँग्रेसीहरुले चर्चा गर्दै आएका छन् । 

ओलीले भने आफ्नो र प्रचण्डको तर्फबाट प्रहरी संगठनकै मान्छेहरु लैजान लागेकाले सकेसम्म देउवालाई अर्को कुनै आकर्षक नियुक्ति रोज्न, अख्तियार छोड्न आग्रह गर्दै आएका छन् । देउवा भने कुनै पनि हालतमा अख्तिारमा आफ्नो तर्फबाट एकजना हुनुपर्ने, नभए संवैधानिक आयोगको बैठकमा नआउने अडान राख्दै आएको स्रोतको भनाई छ । संवैधानिक पदहरुमा संवैधानिक आयोगको बैठक बस्नुपर्छ, जहाँ प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुन्छ । ओलीको कुनै पनि भर नभएको र जुनसुकै दिन जे पनि गर्नसक्ने भन्दै देउवाले अख्तियारमा आफ्नो मान्छे राख्न अडान कायम राखेका हुन् । 

भागबण्डा विवादकै कारण अख्तियारसहित अन्य निकायहरुमा नियुक्ति हुन ढिलाई हुँदै आएको छ । नविन घिमिरेले छोडेपछि वरिष्ठता मिलाउन हालका आयुक्त गणेशराज जोशीलाई कार्यबहाक अध्यक्षको रुपमा काम गर्न दिने र अरु आयुक्तहरु नियुक्त गर्ने सोचमा ओली रहेको बताइन्छ । जोशीले केही महिना चलाएपछि प्रेम राईलाई प्रमुख बनाउने योजना रहेको छ । अख्तियारको आयुक्त बन्न अन्य थुप्रै पूर्व प्रहरी अधिकृतदेखि पूर्वप्रशासकहरु दौडमा रहेका छन् ।

Advertisement

Advertisement