शक्तिशाली सरकारलाई नै फट्याङ्ग्राले लात हान्न थाल्योः  भीम उपाध्याय

जब हरेक पक्ष, तप्का, पेशा, वर्ग, संस्थामा राजनीति हावी हुन्छ,  त्यसले सबै ठॉउ भ्रष्टता चरमचुलीमा पुगेको सिद्ध गर्छ । जब सबै ठाउँमा भ्रष्टता व्याप्त हुन्छ, तब समाजरूपी शरीरमा कडा सुगर, उच्च ब्लडप्रेशर र वेचैन दमले गॉजेको मानिन्छ । यस्तोमा रोगीको डाक्टरलाई उपचार गर्न असंभवप्रायस् हुन्छ र अलि कडा उपचार गर्यो कि रोगी मर्छ । रोगी न मर्न चाहन्छ, न आनन्दले जिउन सक्छ, न उपचार नै हुन्छ । यो मुलुकको अहिलेको फसाद यही हो १ मुलुक उपचारमा ईनोभेशन(अभिनव) को टड्कारो खॉचो छ ।

न हामी सही सक्षम मान्छे चुनेर पठाउन सक्छौ, न सक्षम अधिकारी पहिचान गरेर कामको जिम्मा दिन सक्छौं । अनि काम भएन, गरेन भन्दै सरकारलाई धिक्कार्छौं र पुनः निर्वाचन गर्ने अवसर पाउँदा तिनैलाई जिताएर पुनः पुरस्कृत गरेर पठाउँछौं । मन्त्री, सचिव, डिजी, प्रोजेक्ट म्यानेजरको जिम्मेदारी दिदा मोलमोलाई गरेर प्रि÷पोष्ट पेड प्रणाली लागू गर्छौं । हामी सबै दोषी छैनौँ त ? हामी अरूले हैन आफ्नै कर्म अनुसारको नतिजा बेहोरिरहेका छौँ र बेहोर्दैछौं । कर्मको नियम यही हुन्छ र यो सधैँ अकाट्य हुन्छ सदा काल, सबैमा । कर्मका सबै जस अपजस हाम्रै हुन्छ, यसमा अरूलाई दोष दिनु बेकार छ, अरूको दोष हुँदैन ।

मेजोरिटीलाई माईनोरिटीले हेपेर, पेलेर देश शान्त, सुखी र समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने दुष्प्रयास जारी रहदा नेपाल र नेपालीको मानसिकता दलदलमा फँसेको देखिदैछ। नेपाल अहिले शान्त जस्तो, सहनशील जस्तो देखिएता पनि समाजमा यसको नतिजा भने ढिलाचॉडो शुभ हुनेछैन, हुँदैन, देखिदैन ।

जुन रूखबिरूवाले बिउ उमार्न सक्दैन, जुन ब्यक्तिले सन्तान जन्माउन सक्दैन र जुन नेताले असल नेताहरूको पुस्ता जन्माउन सक्दैन,  ती सबै बाँझा हुन् । ती सन्तानरहित हुँदै बंश नास हुँदै विलिन हुँदै जान्छन् । 

गरिब र शोषितको हित गर्ने दर्शन भएकोले कम्युनिज्मको महत्व अझै रहेको हो । नाम मात्रको कम्युनिष्ट भएर काम छैन, काम कम्युनिष्ट हुनुपर्छ । नेपाली कम्युनिष्ट नेताहरूलाई गत वर्ष नेपाल भ्रमणमा आएका चिनीया राष्ट्रपति सीले तिनी कम्युनिष्टहरु आत्म समीक्षा गरेर अगाडि बढ भन्दै उपदेश दिएका थिए । तर हाम्रा नेताहरूको कानमा बतास लागेको भने अझै देखिएको छैन । वंशनाशको रहर कडै भएको प्रतीत हुन्छ। 

मानिसमा आत्मविश्वास र क्षमता क्षीण भएपछि सत्यबोध गराईदिंदा नै उसमा महापिडाबोध हुन्छ । नेपाली नेताहरू र कर्मचारी घोर पिडाग्रस्त देखिन्छन्। मुलुकमा सत्यबोध गराईदिदा विवेकी कहलिने मानिस नै पीडाबोध गरेर सत्यबोध गराउनेलाई नै उल्टो सराप्ने गर्नुको कारण यही हो । मानिसको जुनिको सार्थकता सत्योबोध हो, तर यससंगै भयाक्रान्त, यस्तो जुनि पनि कुनै जुनि हुन्छ र ? सायद यस्तै कर्मले होला, नेता, कर्मचारी र  ठेकेदारहरू प्रति तिनले जति राम्रो काम गरे पनि अहिले समाजमा जनताको तर्फबाट कसैले सहानुभूति प्राप्त भएको पाईदैन, देखिदैन ।

सरकारलाई तर्साउने, धम्क्याउने ब्यापारी, ब्यावसायी, कर्मचारी, ठेकेदार,  डाक्टर,  वकिल, शिक्षक, प्राध्यापक, पत्रकार, जग्गा बालुवा गिट्टी ढुंगा जग्गा दलाल, माफिया वा राजनैतिक कार्यकर्ताको बोलबाला नै चर्को देखिदै आएको छ। सर्वसाधारण जनता यी सबै संगठित समूहहरूबाट शोषित पिडित हुदै आएका छन् । तिनले नै सरकार र जनतालाई सजिलै धम्क्याईरहेका हुन्छन् ।  

यी सबैलाई यिनै नेताहरूले आजसम्म पालेर, पुल्पुलाएर, संरक्षण गरेर छाडेका हुनावे ती मदमत्त अटेरा बसाहा साढेहरूझैं भएका छन्,  स्वामीलाई नै डुक्रिरहेका छन्। 
यो देशमा नेताहरूले विगत ३ दशक देखि जुनकुनै  क्षेत्र र तप्कामा पनि यति धेरै राजनीति गरेर शासन प्रशासन यति डामाडोल र बिकृत बनाएका छन् कि अहिले मै हुँ भन्ने शक्तिशाली सरकारलाई नै फट्यांङ्ग्राले पनि लात् हान्न थालेको छ । यस्तै सर्वब्यापी कुराजनीतिकरण देखेर पूर्वप्रम स्व. मनमोहन अधिकारीले भन्ने गरेका थिए–‘यो देशमा त्यस्तो पनि दिन आउने छ जब सरकारलाई पिउनले पनि टेर्ने छाड्नेछ।’

जस्तो रूख रोप्यो त्यस्तै फल आज फल्यो । 

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)