कर्जा प्रवाहमा सहकारीको नीति र भविश्य

/// भुपेन्द्र पराजुली  ///

नेपाली अर्थतन्त्रले गति लिन अत्यन्तै कष्टकर अवस्था रहेको बखतमा अझै कोरोना माहामारी तथा अन्य विभिन्न अवरोधले बैंकिङ क्षेत्र तथा सहकारी सस्थाहरु कष्टप्रद अवस्थातर्फ उन्मुख भएको महसुस गर्न सकिन्छ । यस अनुरुप सरकारको मर्जर नीति झनै हाबी भएको देख्न सकिन्छ।

सरकारले २०७६ मा ल्याएको सिलिङ नीति अन्तर्गत सहकारीहरुलाइ कर्जाको क्षेत्रमा एक दर क्षेत्र भित्र नियन्त्रण गरे पश्चात् झनै सहकारी सस्थाहरुबीच निराशा उत्पन्न भएको देख्न सकिन्छ । उक्त निराशाहरु बाबजुद सहकारीको नेपाली अर्थतन्त्रमा कर्जा प्रवाहको भुमिकाबारे बर्णन गर्नै पर्दैन । सहकारीले आजको दिनमा ग्रामीण तथा साना सहरी क्षेत्रमा मुख्य रूपमा कर्जा प्रवाह गरि देशको आर्थिक क्षेत्रलाई चलायामान तथा सामाजिक उत्तरदायित्व समेतलाई बहन गरेको देख्न सकिन्छ । 

संस्थागत शुसासन तथा वित्तिय अनुशासनमा कायम गर्दै पेशागत रुपमा दक्ष ब्यवस्थापन समूह निर्माण गरी कर्जा प्रवाह गर्नु आवश्यक देखिन्छ। सिमित साधन श्रोतको परिचालन गरी अधिकतम लाभ सदस्यहरुलाई प्रदान गर्न र संगठनको छवि उच्च राख्न, सदस्यहरुको स्वमित्व स्थापित गरि साकोसको विकास गर्न कर्जा नियमन कार्यक्रम एकमात्र समाधान भएकोले यसको अवलम्बन सबै साकोसहरुले गर्नु आजको आवश्यकता हो ।

बचत ऋण सहकारीहरु मात्र नाफा वा मात्र सेवाको लागि भन्दा पनि मुल्यमा आधारित भएर संचालित सेवा व्यवसाय हो । सदस्यहरुको आवस्यकतामा आधारित भएर आधुनिक वित्तिय सेवा विकास तथा प्रवाह बचत ऋण सहकारीको प्राथमिक काम हो । व्यवसायिक साकोसको अवधारणाले समेटेको क्षेत्र भनेको सन्तुष्ट सदस्यहरु, सन्तुष्ट कर्मचारीहरु, सक्षम साकोस तथा क्षमतावान सक्रिय संचालकहरु भएको अवस्था हो । 

माथिका चारै पक्षहरुको समन्वयको आधारमा समुदायको विकाससँगै विकास हुदै जाने भएकोले त्यसको प्राप्त गर्न सक्षम साकोस नै व्यवसायक साकोस हो । सदस्यहरुको सामुहिक नियन्त्रणमा रही पेशागत रुपमा दक्ष कर्मचारीहरु मार्फत वा सक्षम कर्जा अधिकृतहरु यस्तै स्वयंसेवी संचालकहरुको सुपरिवेक्षणमा सेवाहरुको विकास तथा प्रवाहको अवस्था नै व्यवसायिक साकोसको आधार हो ।

नेपाल एक निश्चित बजार भएको मुलुक भएको हुदा यहाँ कुनैपनि अभ्यास सहजै सफल हुन कठिन छ। एकातिर स्पष्ट ज्ञान भएको समुहको अभाव त अर्कोतिर  अत्यधिक संख्यामा रहेका बित्तीय सस्थाको कारण सहज कर्जा उपलब्धताले सहकारी हरुको प्रतिस्पर्धामा थप चुनौती थपिएको छ । आज मानिसले चाहेको  दिन चाहेको समयमा आवश्यकता अनुसार वित्तीय सेवा पाउन सकिने आजको समुदायमा आधारित बचत ऋण सहकारीहरुको सुधार मार्फत प्रतिस्पर्धा गर्न सक्षमता विकास गर्नु आजको आवश्यकता हो । 

यसको लागि नीति विधि, प्रविधि तथा असल अभ्यासमार्फत सदस्यहरुलाई प्रतिस्पर्धी वित्तिय सेवा प्रवाह गर्न सक्नु साकोसको सक्षमता मान्न सकिन्छ। सीप, संगठन, बचत र उद्यमशीलता सहकारीका पहिचान हुन्। यस किसिमबाट सहकारीलाई निरन्तर सञ्चालन गर्न सकेमात्र शेयर सदस्यहरूको सम्बृद्धि हुन जान्छ। सहकारीले देशमा विद्यमान वेरोजगारी र गरिबी निवारणमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

आजको यस प्रतिस्पर्धात्मक अवस्थामा निक्षेप तथा कर्जा सुरक्षण निगमले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप फिर्ता गर्न सुरक्षणको ग्यारेन्टी लिन सक्दछ । त्यसैगरी सहकारीमा पनि निक्षेप फिर्ताको ग्यारेन्टी कर्जा सुरक्षण निगम वा राज्य पक्षका सम्बन्धित निकायले सुरक्षणको व्यवस्था लिइ दिने भएमा सहकारीको बिस्वस्नियतामा थप टेवा पुग्ने थियो । अहिले अधिकांश सहकारीले बढी मात्रामा उपभोग्य वस्तुमा र सेवा क्षेत्रमा कर्जा प्रवाह गर्दै आएका छन् ।

यसअलावा अब बदलिँदो परिवेशमा सहकारीको पकेट क्षेत्रका रुपमा रहेको उत्पादनशील क्षेत्रमा व्यवसायिक तवरले कर्जा प्रवाह गर्दै लानु आवश्यक छ । यसो भए, गरेमा राष्ट्रिय नीति अनुरुप सहकारीहरूले पनि ‘एक वडा, एक उत्पादन’ लाई बढावा दिन सक्छन्। उत्पादन क्षेत्रमा व्यवसायीकरण र आधुनिकीकरण समेत गर्न सक्छन् । जसले गर्दा उत्पादनका हरेक क्षेत्रमा सहकारीको योगदान रहन्छ ।

यता, कोरोना कहरले झनै चुनौती थपेको छ । हालै सहकारी विभागले गरेको अध्ययनअनुसार लकडाउन अवधीमा कुल बचत संकलन ८।६३ प्रतिशतले बढ्दा ऋण लगानीमा २.७५ प्रतिशतको कमी आएको छ । बैंकिङ क्षेत्रमा निक्षेप बढेको तथा ऋण प्रवाह घटेको कारण अधिक तरलता स्थिती देखिएको छ । यस्तै अवस्था सहकारीमा पनि देखिन थालेको छ ।

सहकारी क्षेत्रमा ८.६३ प्रतिशतले बचत बढ्दा २ प्रतिशतले ऋण लगानी घटेको छ । कोभिड–१९ ले सहकारी क्षेत्रमा पारेको प्रभावमा सहकारी विभागले गरेको अध्ययनले लकडाउनको अवधिमा यो क्षेत्रमा ऋण घटेको देखाएको हो । आर्थिक गतिविधि कमि हुँदा बचत केही मात्रामा बढेपनि ऋण लगानी घटेको छ । यस कार्यलाइ ब्यवस्थापन गर्न संचालक समिति तथा सम्बन्धित सहकारी हरुका  कर्जा अधिकृतलाई अद्दितिय नीति निर्माणको चुनौती थप भएको देख्न सकिन्छ ।

धरान उपमहानगरपालिका भित्र रहेका विभिन्न सहकारीहरुको सामान्य अध्यन गर्ने क्रममा धरान नगरको ६ नम्बर वडामा रहेका बचत तथा ऋण सहकारीको मैले पर बसेर कर्जा प्रवाह र ग्राहक सन्तुष्टिको अनुगमन गर्ने क्रममा के नतिजा प्राप्त भयो भने सहकारी मानव बिकासको एक महत्त्वपूर्ण आधारको रुपमा रहेको छ । यसले साना व्यवसायी , किसान तथा मध्यम बर्गका समुदायको दैनिकीमा ठूलो प्रभाव पारेको छ । 

साना समुह भेला भएर बचत गर्ने र त्यसैबाट कर्जा लिने र आफ्नै पैसाको ब्याज तिर्दै आएका मानीसहरुलाई यसकै बृहत रुप सहकारीतर्फको आकर्षणले तान्ने गरेको देखिन्छ यसै अनुरुप एक सानो वडामा ४ भन्दा बढी बचत तथा ऋण सहकारी देख्न सकिन्छ । यसले अस्वस्थ प्रतिस्पर्धा लाई निम्याउनका साथै कर्जा प्रवाहमा केही दुविधा सृजना गरेको पाइन्छ । यस प्रकारको अवस्था मुलुकभर नै रहेको हुदा कर्जाको क्षेत्रमा सुरक्षित रहन साकोस हरुले विभिन्न नयाँ अवधारणा प्रस्तुत गर्नु पर्ने आवश्यकता महसुस हुन्छ ।

यसप्रकार कर्जा नियन्त्रण र सबल प्रवाहका साथै वित्तीय तरलता लाई स्थित र मिजासिलो राख्न व्यवस्थापन ग्राहक सङ नजिक रहनुका साथै कर्जा अधिकृतले स्थानीय बजारलाई राम्रो बुझेको हुनपर्ने देखिन्छ। सुरक्षणको क्षेत्रमा कर्जाको अवस्था लाई मितब्ययी बितरणका साथै प्रष्ट नीति सहित स्थानीय स्तर र ग्राहक सङ परिचीत भवितव्यतालाई बुझ्न सक्ने भविस्यमुखी कर्मचारी र ब्यवस्थापन बाट मात्र आजको प्रतिस्पर्धामा सहकारी स्वयंका साथै आफ्नो सहकारीको अस्तित्व लाई पुनः जागरण गर्न सकिने कुरामा बिश्वास लिन सकिन्छ ।