सबैभन्दा बढी कर तिर्ने विजय शाहसहित ठूला करदातालाई परिसंघले गर्यो सम्मान

Advertisement

काठमाडौँ । नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरेको छ  ।  सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् । 

सम्मानित करदाताहरुमा धेरै उद्यमी तथा संस्थाहरु नेपाल उद्योग परिसंघमा आबद्ध रहेकाले परिसंघले पनि गौरव महशुस गर्दै सम्मान पत्र प्रदान गरेको हो । परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित हुनु भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गरे । 

Advertisement

परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि बधाई तथा सम्मान पत्र प्रदान गरेको छ । पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीज प्रालिका निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आईएमई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेको छ ।

सम्मानित हुने थप संस्थाहरुमा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल प्रालि र निर्यातकर्ताहरू मध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रालिलाई पनि सम्मान पत्र प्रदान गरियो । सम्मानित संस्था तथा व्यक्तिहरु परिसंघको गभर्निङ काउन्सिल, नेशनल काउन्सिल र सदस्यको रुपमा आबद्ध रहेका छन् ।

सम्मान तथा बधाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताए । निजी क्षेत्रले बुझाएको कर तथा राजश्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनु पर्नेमा निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । सो अवसरमा सम्मानित करदाताहरुले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघले गरेका क्रियाकलापहरुको सराहना गरेका थिए ।  

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर उत्कृष्ट करदाता बन्न सफल परिसंघको गभर्निङ काउन्सिल सदस्य शाहले संस्थागत सुशासनलाई अपनाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा गर्व महशुस भएको बताउनु भयो । जति बढी कर तिर्छौँ त्यति सन्तोषको विषय रहेको सम्मानित करदाताहरुको भनाई थियो । 

कार्यक्रमको समापन गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले यो सम्मानले व्यवसायिक समुदायलाई उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान कार्यलाई प्रदेश तहमा समेत निरन्तरता दिने बताए । सम्मान कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरु अनुज अग्रवाल र वीरेन्द्रराज पाण्डे राष्ट्रिय परिषद् सदस्य राजबहादुर शाह लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।  

यसअघि नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।

Advertisement

Advertisement