डण्डीको मूल्य घट्न थाल्यो, खाने तेलको अझै घटेन्

Advertisement

काठमाडौँ । खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ । यद्यपि खाने तेल उत्पादन गर्ने उद्योगले भने मूल्य घटाउन आलटाल गरिरहेका छन् । दुई तेल उद्योगबाहेक अन्यले मूल्य घटाएका छैनन् ।

‘डन्डी उद्योगहरूले मूल्य घटाउन सुरु गरेका छन्, तेल उद्योगलाई घटाउन निर्देशन दिएका छौं,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘यद्यपि अनुगमनले मात्रै भाउ घट्दैन । कच्चा पदार्थको मूल्य, भन्सार र न्यून बीजकीकरणको पनि समस्या छ । त्यसले पनि मूल्य बढ्नुमा भूमिका खेलेको छ ।’ कमला रोलिङ मिल्स प्रालि, हुलास वायर ई। लिमिटेड, आरती स्ट्रिप्स प्रालि, पशुपति आइरन, प्रिमियम स्टिल, लक्ष्मी स्टिल र श्री स्टिलले मूल्य घटाएका छन् । यी उद्योगले डन्डीमा प्रतिकिलो ५ देखि १३ रुपियाँसम्म मूल्य घटाएको विभागले जनाएको छ ।

Advertisement

मोरङमा रहेका कमला रोलिङ मिल्स प्रालिले एक महिनामा फलामे छडको मूल्यमा मोटाइअनुसार प्रतिकिलो ११ देखि १३ रुपियाँसम्म घटाएको जानकारी गराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर प्रमुख सन्तोष पोखरेलले बताए । मोटाइअनुसार हालको मूल्य प्रतिकिलो ७२ र ६९ रुपियाँ कायम गरेको विवरण कार्यालयमा बुझाएको उनको भनाइ छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement