दुई कम्पनीबाहेक अधिकांश निर्जीवन बीमा कम्पनीको नाफामा उत्साहजनक  वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश निर्जीवन बीमा कम्पनीको वित्तीय सूचक निकै उत्साहजनक देखिएको छ । कोरोना भाइरस (कोभिड १९)का कारण अन्य क्षेत्रको आर्थिक अवस्था सन्तोषजनक नरहेको बेला निर्जीवन बीमा क्षेत्रमा भने यसको खासै प्रभाव देखिएको छैन् । 

चालु आर्थिक बर्षको पहिलो छ महिना (दोस्रो त्रैमाससम्म) १९ वटा निर्जीवन बीमा कम्पनीले दुई अर्ब २८ करोड रुपियाँभन्दा धेरै खुद मुनाफा आर्जन गरेका छन् । यो मुनाफा गत वर्षको यसै अवधिको भन्दा २५ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा उनीहरुले एक अर्ब ५१ करोड ९३ लाख रुपियाँभन्दा धेरै मुनाफा गरेका थिए ।

Advertisement

सबैभन्दा धेरै मुनाफा बढाउन सफल कम्पनीमा जनरल इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । यस कम्पनीले दोस्रो त्रैमाससम्ममा १५९ दशमलव ३५ प्रतिशतले नाफा बढाएर तीन करोड ६४ लाख १९ हजार रुपियाँ पुर्याउन सफल भएको हो । गत वर्ष सोही अवधिमा सो कम्पनीले एक करोड ४० लाख ४२ हजार रुपियाँ मात्रै मुनाफा गरेको थियो । 

त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको नाफा पनि गत वर्षको यसै अवधिको भन्दा क्रमशः १२४ दशमलव ६७ प्रतिशत र १०९ दशमलव १० प्रतिशतले बढेको छ । 

यस अवधिसम्म दुई निर्जीवन बीमा कम्पनीको नाफामा भने गिरावट आएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको मुनाफा घटेको विवरणबाट देखिन्छ । गत वर्षको पहिलो छ महिनामा पाँच करोड ८० लाख ५२ हजार रुपियाँ नाफा गरेको हिमालयन जनरलको नाफा यस बर्ष सोही अवधिमा १४.६८ प्रतिशले घटेर तीन करोड ४७ लाख ६३ हजार रुपियाँमा सीमित भएको छ । 

यस्तै, गत वर्षको पहिलो छ महिनामा ३१ करोड ४४ लाख रुपियाँ नाफा गरेको राष्ट्रिय बीमा कम्पनीको नाफा यस वर्ष ५६ दशमलव २९ प्रतिशतले घटेर १३ करोड ७४ लाख रुपियाँमा सीमित भएको छ । 

Advertisement

Advertisement