तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै, न्यादी आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन

Advertisement

काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम/कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।  

Advertisement

“सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उनले भने । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो । 

आयोजनाको प्याकेज दुई अन्तर्गत भने करीब रु एक अर्ब खर्च भइसकेको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । 

त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाईसमेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । तनहँु तर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालू आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । 

आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत् गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत् गृहको काम भइरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

न्यादी आयोजनाको विद्युत् जेठदेखि
यसैबीच, लमजुङमा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियार इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिए ।  

उनले भने, “हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको छ । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको उनको भनाइ छ ।” बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी रहेको छ । पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ । पावर हाउसमा दुई  उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । उनका अनुसार प्रशारनलाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, “हामीले यही फागुन महिनातिर निर्माणकार्य सक्ने लक्ष्य राखे पनि कोभिडलगायत विविध कारणले गर्दा निर्माणको अवधि थपिएको छ ।” रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ । 

विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगे पनि अब भने समय थप गर्न नपर्ने आयोजनाले जनाएको  छ । 

आयोजनाका अनुसार ६ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ । 

त्यस्तै सो आयोजना बाहेक पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको कोभिडका कारणले प्रभावित बनेको सुपरदोर्दी ‘ख’ आयोजना आयोजनाले आगामी भदौँ महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । सोही पालिकामै निर्माणाधीन हिलमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने भएको छ । सोही अनुरुप निर्माण कार्यलाई तीब्रता दिँदै आएको बताइएको छ । रासस

Advertisement

Advertisement