राष्ट्रिय बीमा कम्पनीमा छ अर्ब ८८ करोड रुपियाँको बीमा गरेको नेपाल टेलिकम एक्चुरी खोज्दै

Advertisement

काठमाडौं । नेपाल टेलिकमले छ अर्ब ८८ करोड २७ लाख रुपियाँ बराबरको बीमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमार्फत गराईरहेको छ । टेलिकमले सम्पत्ति तथा सवारीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको हो ।

ठीक यही समयमा टेलिकम अहिले आफै भने एक्चुरीको खोजीमा छ । टेलिकमले दिएको जानकारीअनुसार एक्चुरीको आवश्यकता बीमा कम्पनीमा मात्र नभई अन्य कम्पनीमा पनि पर्ने हुनाले त्यसको खोजी गरिएको बताएको छ ।

Advertisement

बीमा क्षेत्रमा एक्चुरी अनिवार्य मानिन्छन् । त्यस्तै, अहिले वित्तीय संस्थाहरूले पनि आफ्नो जोखिमको मूल्यांकन गर्न एक्चुरीको सहायता लिन थालेका छन् । ‘अहिले हामीले खोजेको एक्चुरी बीमाको जोखिम हेर्नभन्दा पनि हामीले पेन्सन फन्डको मूल्यांकन गर्न एक्चुरी खोजेका हौं’, नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर अजयकुमार कँडेलले कर्पोरेट नेपालसँग भने । उनले आफैले एक्चुरी खोजेर जोखिमांकन गर्दा सहज र विश्वसनीय हुने बताए ।

राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालाले एक्चुरीको भूमिका दिनदिनै बढ्दै गएको बताएका छन् । ‘अहिले आर्थिक क्रियाकपापहरू बढ्ने क्रममा छ, सोही कारण जोखिम मूल्यांकन–पहिचान गर्न एक्चुरीको माग हुने गर्छ, टेलिकम लगायत बैक वित्तीय संस्थामा पनि एक्चुरीको भूमिका महत्वपूर्ण हुने गर्छ’, उनले भने ।

कोइरालाले अहिले नेपाल टेलिकमले एक्चुरी खोज्नुको कारण बीमा कम्पनीले बहन गरेको जोखिमको मूल्यांकन गर्नका लागि नभई आफ्नो दूरसञ्चारका टावर तथा अन्य जोखिमको मूल्यांकनका  लागि हुनसक्ने बताए  । नेपाल टेलिकमले राष्ट्रिय बीमा कम्पनीमा मात्र नभई अन्य निजी कम्पनीमार्फत पनि गराई रहेको छ । नेपाल टेलिकमले जोखिमसँग एक्चुरी जोडिने भएकाले आफूहरूले एक्चुरीको खोजी गरेको जानकारी दिएको छ ।

नेपालले आफ्नो एक्चुरी उत्पादन गर्न सकेको छैन । नेपाली विद्यार्थीहरूले एक्चुरियल शिक्षाको अध्ययनको लागि विदेशिनुपर्ने बाध्यता कायमै छ । चार वर्ष फेलोसिप र चार वर्ष डिप्लोमा कोर्सको अध्ययन गरेपछि मात्र कुनै पनि व्यक्ति एक्चुरी बन्न सक्छ । एक्चुरी पढ्न लागत समेत महङ्गो हुने भएकाले कुनै पनि व्यक्ति एक्चुरी बन्न त्यति सजिलो छैन । अधिकांश विद्यार्थीले एक्चुरीको अध्ययन पूरा गर्नु अगावै पढाई नै छाड्ने भएकाले एक्चुरीको संख्या कम हुने जानकारहरू बताउँछन् ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले एक्चुरीको सैद्धान्तिक पढाई भने सुरुवात गरेको छ । तर नेपालमा एक्चुरीको संख्या जति कम छ त्यति नै उनीहरूको महत्व भने धेरै छ । अहिले आफूहरूलाई एक्चुरीको चरम अभाव भएको नेपाल टेलिकमले जानकारी दिएको हो । 

Advertisement

Advertisement