निषेधाज्ञाले विद्युत् खपत घट्ने चिन्ता, तामाकोशीको बिजुली ल्याएर आयात घटाउने योजनामा प्राधिकरण

Advertisement

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट बिजुली आउने अन्तिम तयारीसँगै आन्तरिक खपत भने घट्ने चिन्ता सुरु भएको छ । १६ वैशाखदेखि काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको र दोस्रो चरणको लकाडाउन सुरु हुँदा विस्तारै आर्थिक गतिविधि पनि कम हुँदै जान थालेको छ । आर्थिक गतिविधि कम हुने, उद्योग धन्दा सञ्चालनमा कमि आउने हुँदा त्यसको असर बिजुली खपतमा पर्ने अनुमान गर्न थालिएको छ ।

कोभिड संक्रमण बढ्दै गएकोले निषेधाज्ञा बढ्न सक्ने र तराईका जिल्लाहरूमा पनि एकपछि अर्कोमा निषेधाज्ञा हुने अवस्था देखिएको छ । यसले औद्योगिक क्षेत्रमा असर गर्ने र बिस्तारै बिजुलीको खपत कम हुन सक्ने बुझाई नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेको छ ।

Advertisement

न्यौपानेका अनुसार अहिले विद्युत् खपत गत वर्षको तुलनमा करिब दोब्बर हुन पुगेको छ । यो वेलाको बिजुली खपत अलिहेसम्मकै धेरै भएको र सोही अनुसार माग पनि बढीरहेको थियो । कोरोना महामारीसँगै सुरु भएको निषेधाज्ञा र त्यसपछि कम हुँदै गएको आर्थिक गतिविधिले  बिजुलीको आन्तरिक खपत घटाउने अवस्थाको अनुमान गर्न थालिएको छ ।

न्यौपाले भन्छन्, ‘आजको मितिसम्म कीर्तिमान खपत भएको बिजुली अब भने घट्छ कि भन्ने चिन्ता हुन थालेको छ । तर, अहिले नै घटिसकेको अवस्था भने होइन् ।’ उनी भन्छन्, ‘मूख्य त उद्योग धन्दाबाटै बिजुलीको खपत बढी हुने हो । यही क्षेत्रले प्रयोग गर्न सकेन भने कम हुँदै जाने हुन्छ ।’  बिजुलीको खपत निषेधाज्ञासँगै काठमाडौंमा पनि कम हुँदै गएको उनको बताए । अहिलेको अवस्थाले अब तराईका जिल्लामा पनि निषेधाज्ञाले खपत घट्दै जाने देखिन्छ । उद्योगधन्दा कसरी चल्छन भनेर अहिले नै एकीन गर्न नसकिने भएकोले पनि बिजुली खपतको अवस्थाको चित्रण त्यसपछि मात्रै गर्न सकिने बुझाइ पनि विद्युत् प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार माथिल्लो तामाकोशीको बिजुली आउने तयारीमा छ । यो आयोजनबाट बिजुली आएपछि भारतबाट हुने आयात कम गर्दै जाने र निर्यात पनि बढाउँदै जाने जानकारी प्राधिकरणको छ । भारतसँग बिजुली निर्यातको सम्झौता भएको आवश्यक पूर्वाधार तयार भइसकेकोले अब आयात निर्यातमा कुनै समस्या नभएको प्राधिकरणका उपकार्यकारी निर्देशक न्यौपानेले बताए । 
बिजुलीको वितरणमा कुनै तयारी गर्नुपर्ने अवस्था छैन भने तामाकाशी आएपछि भारतीय आयात मात्रै घटाउँदै जाने पहिलो प्राथमिकता पनि दिइएको छ । बिजुली निर्यातमा समस्या भइरहेकोले यसको समाधानसहितको ढोका खुलिसकेको छ । ढल्केवर—मुजफ्फर ४०० केभीको प्रसारण लाइनबाट १२ सय मेगावाटसम्मको विद्युत् सजिलै निर्यात गर्न सकिने भएकोले ४५६ मेगावाटको तामोकोशी आउँदा बढी भएको बिजुलीमा कुनै चिन्ता छैन् । तर, यो बिजुली आएपनि हाल भइरहेको आयात नै हट्ने दाबी प्राधिकरणको छ । 

हाल नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ४०७९ मेगावाट प्रति घण्टा र निजी क्षेत्रका आयोजनाबाट ४९९१ मेगावाट प्रति घण्टा बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । भारतबाट १७६७८ मेगावाट प्रति घण्टा आयात भइरहेको भने पीक आवरको माग १३१० मेगावाट छ ।

तामाकोशीबाट एक महिनाभित्र ७६ मेगावाट बिजुली आउने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रमुख विज्ञान श्रेष्ठ एक महिना भित्रमा तामाकोशीको बिजुली आउने गरी तयारी भइरहेको बताउँछन । उनले भने ‘१६ वैशाख अर्थात हिजो औपचारिक रूपमा पानी हालेर टनेलेको परीक्षण सुरु भएको छ’ ।

अब दुई साता टनेल परीक्षण गर्ने र त्यसपछि विद्युत् परीक्षणमा जाने गरी तयारी भइरहेको उनले बताए । श्रेष्ठका अनुसार दुई सातापछि राष्ट्रिय प्रसारणमा तामाकोशीको बिजुली पठाउन सकिने गरी तयारी भएको छ । त्यसैले सफल  परीक्षणपछि अर्को दुई सातामा राष्ट्रिय प्रसारणबाट नियमित तामाकाशीको बिजुली आउने सुनिश्चित जस्तै छ । अलिहेसम्मको तयारी अनुसार कुनै समस्या नभए जेठ दोस्रो साताभित्र तामाकोशीको बिजुली काठमाडौं आइपुग्ने दाबी पनि श्रेष्ठको छ । 
 

Advertisement

Advertisement