असुरक्षित डिपोजिट जम्मा गर्नेमा इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि, कुन बैंकको कति ?

Advertisement

काठमाडौं । कल डिपोजिट अर्थात असुरक्षित निक्षेप जम्मा गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि देखिएको छ । २४ वैशाख २०७८ सम्मको तथ्यांकअनुसार सबैभन्दा बढि कल डिपोजिट जम्मा गर्नेमा इन्भेष्टमेन्ट बैैंकको कुल डिपोजिटको ११.७३ प्रतिशत रहेको छ । यस्तो डिपोजिट बैंकले एक खर्ब ६७ अर्ब ७३ करोड रुपियाँ कुल निक्षेप संकलन गर्दा कल डिपोजिट १९ अर्ब ६७ करोड रुपियाँ रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले २०७५ सालको मौद्रिक नीतिको मध्यावधि समीक्षापछि कुल निक्षेपमा कल डिपोजिटको सीमा १० प्रतिशतभन्दा बढाउन नमिल्ने तोकेको छ । यो सीमा त्यसपछि परिमार्जन नभएकोले अहिले पनि सोही सीमालाई नै मान्नुपर्ने नेपाल राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले कल निक्षेप बढर २५ प्रतिशतसम्म पुगेका बेला यसलाई घटाउने नीतिअनुसार सीमा तोकेको थियो । २०७५ मा राष्ट्र बैंकले १० प्रतिशतको सीमा तोक्नु अगाडि २५ प्रशितशतसम्म पुगेको थियो । त्यति बेला प्राइम बैंकले ३५ प्रतिशत पुराएको कल डिपोजिट अहिले ८.४७ प्रतिशतमा झारेको छ ।

Advertisement

इन्भेष्टमेन्ट हिमालयन बैंकसँग मर्ज हुन लागेको बैंक हो । यसको तुलनामा हिमालय बैंकको कल डिपोजिट भने कम छ । हिमालयनको कल डिपोजिट कुल डिपोजिटको ७.५० प्रतिशत मात्रै छ । बैंकहरूले कुल निक्षेप बढाउन कल डिपोजिट लिने गरेका छन् । 

यस्तो खातामा अल्पकालिन समयको लागि पैसा हुन्छ । संस्थागत तथा ठूला व्यवसायिक घरानाले कल निक्षेप खातामा पैसा राख्ने गर्छन् । यस्तो खातामा एकैपटक धेरै पैसा राखिने र जति बेला पनि झिक्न सकिने हुन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार कल डिपोजिट धेरै हुँदा विकृति आउनसक्ने हुन्छ । उनी भन्छन्, ‘यस्तो डिपोजिट जतिबेला पनि झिक्न र राख्न सकिने हुँदा धेरै भएको अवस्थामा बैंकमा जोखिम बढ्छ भनेर सीमा तोकिएको हो ।’

निक्षेपकर्ताले चल्ती खाताको जस्तै यो पैसा जतिबेला पनि राख्न र झिक्नसक्ने भएकोले सीमा तोकिदिएको हो । यस्तो डिपोजिटमा बैंकहरूले बचतमा दिएको न्यूनतम ब्याजको ५० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइन्छ । कुनै बैंकले दुइ प्रतिशत न्युनतम ब्याज दिने भनेका छन भने कल डिपोजिटमा एक प्रतिशत मात्रै ब्याज दिन पाइने ढकालले बताए । यो व्यवस्था राष्ट्र बैंकले जारी गरेको निर्देशिका नै उल्लेख भएको विषय हो ।

कलमा डिपोजिटमा थोरै ब्याज पाइने भएपनि निक्षेपकर्ताले जति बेला मन लाग्यो उति बेला निकाल्न पाउने हुँदा निक्षेपकर्ताले पैसा निकाल्दा बैैंकहरूलाई असहजता नहोस् भनेर जोखिम कम गर्न पनि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।

कल डिपोजिट राष्ट्र बैंकले तोकेको सीमाभन्दा अन्य बैंक तथा वित्तीय संस्थाका भने कम रहेको छ । सबैभन्दा कम कल डिपोजिट लिनेमा नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकले एक खर्ब १ अर्ब कुल निक्षेप रहेकोमा कल डिपोजिट चार अर्ब ७० करोड रहेको छ । यो कल डिपोजिट कुल डिपोजिटको ४.६५ प्रतिशत हो ।

नेपालमा हाल अस्तित्वमा रहेका २७ वटा वाणिज्य बैंकमा रहेको कुल ३९ खर्ब ४५ अर्ब कुल निक्षेपमध्ये कल डिपोजिट तीन खर्ब १३ अर्ब रुपियाँ छ । यो निक्षेप कुल निक्षेपको औषतमा भने ७.९४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । (तथ्यांकमा कल र कुल निक्षेप रु.१० लाख र कलको हिस्सा प्रतिशतमा)

Advertisement

Advertisement