निषेधाज्ञाको समयमा नै शिक्षक महासंघद्धारा आन्दोलन घोषणा

Advertisement

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राखी दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारी रोक्न अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइरहेको बेला महासंघ जेठ ५ गतेदेखि आन्दोलन सुरु हुने निर्णयमा पुगेको हो । यद्यपि भौतिकरुपमा सडकमा उपस्थित भई आन्दोलन गर्ने कार्यक्रम तत्काल नरहेको महासंघले जनाएको छ । 

निषेधाज्ञाका कारण आफ्ना मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्रमार्फत ध्यानाकर्षण गराइसकेको महासंघले शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप लगाइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् जस्ता माग राखेको छ ।  

Advertisement

महासंघको विरोध कार्यक्रममा जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा आफ्ना मागसहितको नारा लेखेर पठाउने, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच आफ्ना माग सम्वन्धमा अनलाइन अन्तरक्रिया गर्ने, जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने योजना छ ।

त्यस्तै, जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षामन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने योजना पनि बनाइएको छ । 

Advertisement

Advertisement