नवराज विकको हत्याका आरोपीलाई संरक्षण नगर्न र जनार्दन शर्मालाई मन्त्रीबाट बर्खास्त गर्न माग

Advertisement

काठमाडौं । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको तीन बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाइएको छ । 

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । उनले भने, ‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत छ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।’ 

डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातिय विवाहको आरोपमा अण्डकोष घोटी–घोटी भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए । परियारले भने, ‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ ।’ अन्तर्राष्ट्रिय नजर पनि यस घट्नामा परेको उनको भनाई थियो ।  

परियारले भने, ‘बन्दुक बोक्न र बिद्रोह गर्न आफूहरुलाई बाध्य बनाउन लागिएको छ ।’ उनले हतियार बोक्ने दिन नआओस् भन्दै देउवाजस्तो प्रजातन्त्रको लागि लडेका नेताले दलितको कुरा सुन्ने विश्वास गरे ।
अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । कामीले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ ।’

उनले शर्माले हत्याराको पक्षमा बोलेको भन्दै आपत्ति जनाए । ‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ कामीले भने । विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । कामीले नवराज बिक लगायतको जातिय हिंसाले अन्तराष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधिन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

अलायन्सका अर्का संयोजक चन्देश्वर दासले माओवादीले आफ्ना सरकार आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको आरोप लगाए । उनले भने, ‘माओवादीले विभेद हटाउँछौ भनेर पछि आँफैले दमन गर्दै आएको छ ।’

देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउदै दासले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गरे । उनले थपे, ‘अब अर्का संरक्षक मातृका यादव पनि मन्त्री बन्दैछन् रे ।’ अब दलित र उत्पीडन वर्गले खुकुरी र बन्दुक पड्काउने साहस गर्नुपर्ने उनले बताए । दासले जनार्दन विरुद्धमात्र नभएर आफूहरुले जनार्दनजस्ता धेरै जनाको विरुद्धमा संघर्षमा उत्रिनुपर्ने टिप्पणी गरे । उनले धुनषाका शम्भु सदाको पनि प्रहरीले हत्या गरेको तर अहिलेसम्म उक्त घट्नामा पनि न्याय नपाएको स्मरण गराए । 

अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताईन् । माओवादीका नेताले गरेको हर्कतले आज सत्तामोह वा जनताको मुक्तिको लागि लडेको हो भन्ने अन्यौल सिर्जना गरेको बताईन् । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् ।

Advertisement

Advertisement