बैंकिङ कसुर मुद्दामा कैद र ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

Advertisement

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा रु ५० लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरेको छ । 

अर्घाखाँची घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ । 

Advertisement

मौज्दात रकम नभएको आफ्नो खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र रु ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो । 

त्यसपछि फरार रहेका भुसाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले आज पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।  

Advertisement

Advertisement