दशैं चापले नियमित उडानका जहाजलाई भ्याइनभ्याई, हेलिकप्टरले भने कामै पाएनन्

Advertisement

काठमाडौ। दशैं नजिकिदै गर्दा नियमित उडानका जहाज कम्पनीलाई भ्याइनभ्याई भएको छ । दशैंलाई दृष्टिगत गरेर नियमित उडानका जहाज कम्पनीहरूले टिकट खुला गरेका, दशैंलाई उडान थप गरेका तथा नयाँ फ्लिट थप भएको जानकारी दिने थालेका छन् । यी वायुसेवा कम्पनीले दशैं अफर घोषणा गर्दा हेलिकप्टर भने काम नपाएर थन्किइरहेको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् ।

वायुसेवा सञ्चालक संघका अनुसार नियमित उडानका जहाजका लागि चाडपर्व नजिकिएसँगै सिजन सुरु भएको छ भने हेलिकप्टर कम्पनीको लागि भने अफ सिजन जस्तै सुस्ताएरै बसिरहेका छन् । कोरोना महामारीपछि पर्यटक आगमन नभएको कारण हेलिकप्टरको व्यवसाय २०७६ फागुनदेखि नै करिब ठप्प छ ।

Advertisement

वायुसेवा कम्पनीले नेपाली यात्रुलाई दृष्टिगत गरेर हवाई टिकट बेच्ने गरेका भएपनि हेलिकप्टरको भने चार्टर उडान मात्रै हुन्छ । हेलिले पर्यटकीय सेवा दिनेदेखि उद्धारको काम गर्ने गरेका छन् । सामान ढुवानी गर्नुपर्दा पनि हेलिको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय सडक पहुँच र नियमित उडानका जहाज पुगेका क्षेत्रमा निर्माण सामग्र्री तथा ढुवानीमा हेलिको प्रयोग हुन छोडेको छ।

हेलिकप्टरले पर्यटक आगमन नै पर्खनुपर्ने भएकोले अहिले कहिलेकाहीँ आउने उद्धार उडान बाहेकको काम नभएको कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंघ पाण्डे बताउँछन् । उनका अनुसार यो वायुसेवासँग भएको हेलिकप्टर अहिले अधिकांश समय काम नपाएर विमानस्थलै थन्कने गरेको छ । तीन मध्ये यसको दुई मात्रै उडानमा छ । एउटाको काम नहुने भएकोले एकैसाथ तीन  हेलि उड्न नसकेको जानकारी पाण्डेले दिए ।

हेलिकप्टर सेवामा आक्रामक सेवा विस्तार गरिरहेको सिम्रिक एयरसँग हाल चारवटा हेलिकप्टर छ । यो हेलिले कोभिडका विरामीको उद्धारका लागि प्राथमिकता दिएर उडान गरिरहेको भएपनि अहिले काम हेलिको माग निकै कम आउने गरेको सिम्रिक एयरलाइन्सका महाप्रन्धक प्रेम थापा बताउँछन् । उनी भन्छन्, ‘पर्यटक नहुँदा हेलिको काम नहुने र विरामीको उद्धार उडानमा कहिलेकाहीँ मात्रै हुने हुँदा अधिकांश हेलिकप्टर खाली बसेका छन् ।’

थापाका अनुसार जहाज थन्काएर राख्दा पनि बीमा शुल्क तिर्नेपर्ने, जहाजलाई उडानयोग्य बनाइराख्नुपर्नेसहितमा शुल्क लाग्ने भएकोले पालैपालो उडेका हुन सक्छन् । तर, पछिल्लो समय नेपालमा रहेका कुल हेलिकप्टरमध्ये ५० प्रतिशत पनि उडानमा प्रयोग हुन मुस्किल रहेको थापा बताउँछन् । 

फिस्टेल एयरका प्रवन्ध निर्देशक मनोज कार्कीका अनुसार पर्यटक नआएसम्म हेलिले व्यापार पाउँदैनन् । कुनै शौखिन नेपाली र खर्च गर्न सक्ने सिमित ब्यक्तिले कहिलेकाहीँ गर्ने चार्टर उडानले मात्रै हेलिकप्टर कम्पनी टिक्न नसक्ने उनको भनाइ छ । अहिले हेलिकप्टर कम्पनी सबै जेनतेन चलेको देखिएको मात्रै भएपनि घाटामा पर्यटकीय वातावरण सिर्जना हुने र आउने आशा गरेर मात्रै बसेको बुझाई कार्कीको छ ।

श्री एयरका कार्पोरेट प्रवन्धक अनिल मानन्धरका अनुसार यो वायुसेवासँग साना हेलि दुईवटा छ । ठूलो हेलि भने काम नपाएर बर्षोदेखि थन्किएका छन् । यो वायसुसेवासँग एमआई १७ नामक ठूला हेलिकप्टर पाँच वटा छ । यसले हाल नेपालमा साना हेलिमात्रै उडाइरहेको छ । यसका हेलिले पनि काम नपाएका कारण दुईवटा मध्ये एउटा मात्रै उड्ने गरेको छ ।

हाल नेपालको हवाई उद्योगमा १० वटा हेलिकप्टर कम्पनीसँग ३६ वटा हेलिकप्टर रहेका छन् । यी हेलिकप्टर मध्ये आधा मात्रै चलेको छन् । बाँकी सबै थन्किएर बसेको पनि सम्बन्धित कम्पनीले जानकारी दिएका छन् ।

Advertisement

Advertisement