इच्छाराज तामाङसहित १२ जनाविरुद्ध ठगी आरोपमा अनुसन्धान सुरु गरियोः सीआईबी

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सिभिल सहकारीका निक्षेपकर्ताको रकम गठी गरेको आशंकामा पूर्वसभासद इच्छाराज तामाङसहित १२ जनाविरुद्ध अनुसन्धान अघि बढाएको बताएको छ । 

सोमबार बेलुकी सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनाविरुद्ध अनुसन्धान अघि बढाएको ब्यूरोले विज्ञप्तिमार्फत जनाएको हो । सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेकाले आवश्यक कानुनी कारवाही अघि बढाएको प्रहरीको भनाई छ । 

Advertisement

सिभिल सहकारीका १३७ जना बचतकर्ताहरुले बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार आठ सय २१ रुपियाँ ३२ पैंसा भुक्तानी नभएपछि उनीहरुविरुद्ध संगठितरुपमा सहकारी ठगी गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा सिभिल बैंकका अध्यक्षसमेत रहेको पूर्वसभासद इच्छाराज तामाङ, सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी मर्हजन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश मर्हजन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह, हरिहर लामिछाने छन्।

मिडियामा समाचार आएसँगै निक्षेपकर्ता एकै पटक रकम माग्न आएपछि धेरै रकम फिर्ता गर्न सहकारी सफल भए पनि ७० करोड रुपियाँ फिर्ता गर्न सकेको थिएन् । रकम फिर्ता लिन नपाएकाले यसअघि नै उजुरी गरे पनि इच्छाराज तामाङ नेकपा एमाले निकट भएकाले यस विषयमा छानविन र कारवाही भएको थिएन । सरकार परिवर्तन भएसँगै नयाँ सरकारले तामाङमाथि कारवाही अघि बढाएको हो । 

सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको पीडित पक्षको भनाई छ । प्रहरीका अनुसार प्रक्राउ परेका व्यक्तिहरु सिभिल सहकारीका पूर्वअध्यक्ष, सञ्चालक र कर्मचारी हुन् । सिभिल सहकारीले ठूलो रकम हाउजिङ र अपार्टमेन्टमा गरेको छ । तर ती हाउजिङ तथा अपार्टमेन्टको बिक्री राम्रो नहुँला सिभिल समूहलाई समस्या परेको थियो । 

तर प्रहरीले भने परियोजनाहरुमा निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुनसक्ने अनुमान गरेको छ । 

Advertisement

Advertisement