सिंखडालाई रोक्न खोज्दा मनमोहन चलाउने सहकारीको साधारणसभा छ पटक सर्यो, अझै अनिश्चित

Advertisement

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्ने नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको वार्षिक साधारण सभा एक जना व्यक्तिलाई रोक्न खोज्दा छ पटक स्थगित भएको छ । 

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे १६ वर्षदेखि अध्यक्ष रहेको उक्त संस्था २५ पुस २०७७ कै दिन १४ औं र १५औं वार्षिक साधारण सभासँगै नयाँ कार्यसमितिसमेत चयन गर्ने घोषणा गरेको थियो । संस्थाको अध्यक्षमा यसका एक लगानीकर्ता तथा पर्यटन व्यवसायी गणेश सिंखडाले पनि दाबी गरेपछि पाण्डेले आफैं अध्यक्ष हुन साधारण सभा पटक पटक स्थगित गराएका हुन् ।

Advertisement

गत वर्ष २५ पुसमै तोकिएको उक्त साधारण सभाका लागि सम्पूर्ण तयारी पूरा भइसक्दा र अध्यक्ष पाण्डेले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्ने दुबै वार्षिक साधारण सभाको प्रतिवेदनसमेत तयार पारिसकेका छन् । प्रतिवेदन छापिएर लगानीकर्ताको हातहातमा पुगिसकेको भए पनि सिंखडाले अध्यक्ष दाबी नछोडेपछि पाण्डेले उनैलाई रोक्न खोज्दा अहिलेसम्म छ पटक साधारणसभा स्थगित भइसकेको छ । अझै साधारण हुने कुरा अनिश्चित नै रहेको संस्थाका लगानीकर्ता बताउँछन् । 

यस स्वास्थ्य सहकारीले औपचारिक रूपमा घोषणा गरेको साधारण सभा २५ पुसमा गर्ने भनेर एक राष्ट्रिय दैनिक पत्रिकामा सूचनासमेत प्रकाशित गरेको थियो । तर, तोकिएको मितिमा आफू अनुकुल परिणाम नआउने अनुमानका आधारमा सभाको मिति आगामी २५ मंसिरसम्मलाई स्थागित भइसकेको छ । त्यसअघि पनि ४ मंसिरलाई साधारणभा तोकिएको थियो । उक्त मिति आउनु दुई साता अगाडि नै साधारणसभा स्थगित भइसकेको थियो ।

यसभन्दा अघि पनि १५ असोज २०७८, २१ चैत्र २०७७, १६ फागुन २०७७ र २५ पुस २०७७ को लागि तोकिएको सभाको मिति स्थगित भएका थिए । सहकारीले भने २५ पुसमै साधारणसभा भइसकेको दाबी गरेको छ । सहकारी ऐन तथा नियमावली र संस्थाको विनियमसमेतका आधारमा कानूनबमोजिम प्रक्रिया नपुर्याइ गरिएको साधारणसभालाई मान्यता नदिन केही सदस्यले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि प्रक्रिया पुर्याएर साधारण सभा गर्नु भनेर आदेश दिएको थियो । 

उक्त आदेशअनुसार सहकारीले प्रक्रिया पुर्याउन पनि नसकेको र सहकारीका नयाँ सञ्चालकले मनोनयनसमेत गरिसकेपछि आफैं अध्यक्ष हुन नसक्ने भएपछि पाण्डेले नै अनेकौ तिकडम गरेर आफ्नो कार्यकाल मात्रै लम्बाइरहेको सहकारीका लगानीकर्ताको गुनासो छ ।

संस्थाको अध्यक्षका दावेदार सिंखडाले कर्पोरेट नेपालसँग भने ‘पाण्डेले मलाई नै रोक्न खोज्दा ६ पटक साधारण सभा स्थागित गराएका छन् । पाण्डेले आफू अनुकुल बनाउन विशेष साधारण सभा गराउने र एक पटक कार्यसमितिमा भएको व्यक्ति मात्रै पदाधिकारीमा बस्न पाइने व्यवस्था गर्न खोजेका पनि छन् ।’ 

पाण्डेले सहकारीलाई १६ वर्षसम्म एकलौटी अध्यक्ष भएर सञ्चालन गरेको, संस्थाका लगानीकर्ताले अहिलेसम्म लाभ पाउन नसकेको, संस्था साढे दुई अर्ब भन्दा बढी ऋणमा डुबेको र उद्देश्य अनुसार काम गराउन नसक्दा व्यक्तिगत लाभका लागि मात्रै काम गरेको कारण संस्था सुधार गर्न आफूले नेतृत्व दाबी गरेको सिंखडा बताउँछन् ।

उनका अनुसार यो संस्थाका २६ सय लगानीकर्ताले गरेको लगानीको प्रतिफल दिन, संस्थालाई उद्देश्य अनुसार नै सञ्चालन गर्न आफू संस्थामा जान खोजेको बताए । आगामी दिनमा यसको चार पाँच ठाउँमा भएको सम्पतिमध्ये एक ठाउँको बिक्री गरेर ऋण तिर्ने र बलियो संस्था बनाउने उपयुक्त प्रस्ताव अगाडि सारेकै कारण पाण्डेले आफूलाई रोकिरहेको सिंखडाको तर्क छ ।

उनले यो सहकारीले सञ्चालन गरेको मनमोहन मेडिकल कलेज तथा तथा शिक्षण अस्पताल घाटामा सञ्चालन भइरहेको र यसलाई सार्वजनिक निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने, सर्वसाधारणले गरेको लगानीको प्रतिफल फिर्ता दिलाउँदै संस्थागत सुधार गर्ने प्रस्ताव अगाडि सारेका छन् । सिंखडाको प्रस्ताव उपयुक्त भए पनि शेयरधनी सदस्यले उनलाई नै अगाडि सार्न खोजेका कारण पाण्डेले रोकिरहेको पनि उल्लेख छ ।

सिंखडाले सरकारबाट आएको २२ करोड रुपियाँ अनुदानसमेत पाण्डेले ठमेलको अस्पतालमा डुबाएको बताए । सहकारीबाट व्यक्तिगत लाभ लिने र आफू अनुकुल मात्रै चलाउन खोजेको भन्दै उनले २६ सय लगानीकर्ताको लगानी डुबाएकोले पनि अब संस्थाको नेतृत्वबाट हट्न आग्रह गर्दा पाण्डेले नै छोड्न नचाहेको बताए । 

यो सहकारीको अस्पताललाई अब सरुवा रोग अस्पताल बनाएर सुधार गर्ने योजना अगाडि सारिएको छ । सरुवा रोग अस्पताल बनाउन वागमती प्रदेशले तीन अर्बसमेत छुट्याइसकेको जनाइएको छ । तर, यो रकम हाल पाण्डे मुख्यमन्त्री भएकोले आफ्नै अध्यक्ष रहेको संस्थामा खर्च गर्न नमिल्ने हुँदा समेत पाण्डेले संस्था छोडेका छैनन् । उक्त रकमको सही सदूपयोग हुन सक्यो भने मात्रै पनि यसले चलाएको मनमोहन हस्पिटलको सुधार हुने दाबी सिंखडाको छ ।

सहकारीको गतिविधि र यसले अहिलेसम्म गरेको लगानी फिर्ता नभएकोसहितको विषयमा पाण्डेसँग कर्पोरेट नेपालले सम्पर्क गर्न खोज्दा पाण्डेले भेटेरै कुरा गर्ने भन्दै पटक पटक पन्छिए ।

सम्बन्धित समाचार

मनमोहनमा लगानी गर्ने २५ सय लगानीकर्ताको १६ वर्षदेखि प्रतिफल शून्य (लगानीकर्ताको सूचीसहित)

मनमोहनले बैंकको ऋण नतिर्दा अस्पताल नै लिलाम हुने, जग्गा बेचेर लिलामी रोक्छौँः अध्यक्ष पाण्डे

मनमोहन मेडिकल कलेजमा सात बाणिज्य बैंकको दुई अर्ब ऋण जोखिममा, बार्षिक घाटा २५ करोड

मनमोहन अस्पताल चरम आर्थिक संकटमा,  ठमेल आउटलेट बन्द, पाण्डेलाई निकाल्न चर्को दबाब

 

Advertisement

Advertisement