तराईमा नेपाली ब्राण्डको नाम राख्दै भारतीय नक्कली चुरोटको बिक्री बढ्यो, करोडौं राजश्व नोक्सान

Advertisement

धनुुषा । सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिगबिगी बढेको छ । नेपाल र भारत सीमासँग जोडिएका तराईका अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण भइरहँदा पनि सरकारका सम्वन्धित सरकारी निकाय भने त्यसलाई रोक्न उदासिन बनेका छन् । 

विशेष गरी यो समस्या प्रदेश दुईका आठै जिल्लामा रहेको पाइएको छ । आन्तरीक राजस्व कार्यालय धनुषाको निर्णय अनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलवार सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला परेका थिए ।

Advertisement

फेला पारेका नक्कली चुरोटसहित पसलका सञ्चालक शंकर साहलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरीक राजस्व कार्यालय जनकपुरधाम पठाईएको छ । सामान बरामद गर्ने मात्रै नभएर यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली सामान भित्रन कमी नआउने जानकार बताउँछन् ।

सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खुलाएको छ ।

सम्बन्धित निकायले ठोस रुपमा अनुगमन गर्न नसक्दा यस्ता नक्कली पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हँुदै आएको छ । नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालेपछि नेपाली उद्योग धरासायी हुने स्थितिमा पुगेको उद्योगीहरु बताउँछन् । 

सूर्य नेपाल प्रा.लि.को सक्कलीमा गाढा रातो रंगको डिब्बा रहेको छ भने नक्कली चुरोटमा आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्टिकर, फिक्का रातो रंगको डिब्बा, भित्र चुुरोटको आकारमा परिवर्तन समेत रहेको देखिएको छ ।

एक महिनामा विभिन्न स्थानहरुबाट कम्तीमा पाँच करोड रुपियाँ बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकहरुको दाबी रहेका छन् । अवैध कारोबारीले प्रति महिना करिब तीन करोड रुपियाँ अन्तःशुल्क छलेको अनुमान गरिएको छ ।

Advertisement

Advertisement