पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर जताततै, कुन उपभोग्य वस्तु कति महंगियो ?

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले असर जताततै देखिन थालेको छ । सरकारले विकल्प नदिदा नेपाल आयल निगमले लगाताररुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ, जसको भार आम उपभोक्तामाथि परेको छ । 

इन्धनमा भएको मूल्यवृद्धिको कारण दैनिक उपभोग्य वस्तुदेखि सवारी भाडा, निर्माण सामग्री आदिमा समेत मूल्यवृद्धि भएको छ । यसको ठूलो मार विशेषगरी न्यून आयस्तरमा मानिसहरुमा परेको छ । 

Advertisement

उपभोक्ता अधिकारकर्मी ज्योति बानिया पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर वस्तु तथा सेवा बजारको मूल्यचक्रमा परेको बताउँछन् । यसले उपभोक्ताको जिबिकामा गम्भीर असर परेको उनको भनाई छ । 

गत वर्ष ९९ रुपियाँ प्रति लिटर रहेको पेट्रोलको मूल्य अहिले बढेर १३६ रुपियाँ पुगेको छ । डिजेल, मट्टीटेल र खाना पकाउने एलपी ग्यासमा समेत भारी मूल्यवृद्धि भएको छ । यसको प्रत्यक्ष असर हरेकको भान्सादेखि आवतजावतमा परेको छ । पेट्रोलियम पदार्थको भाउ बढ्न थालेपछि सरकारले गत महिना करिव २८ प्रतिशत सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले भाउ बढाउन परेको नेपाल आयल निगमले जनाएको छ । मूल्य वृद्धि हुँदा खर्च गर्न बनाइएको मूल्य स्थिरिकरण कोष सञ्चालन गर्न पनि सरकारले बाटो नखोल्दिने र पैसा पनि नदिने गर्दा निगम मूल्य बढाउन बाध्य हुँदै आएको छ । 
निगमले आफूले घाटा खाएर इन्धन बेचिरहेको बताउँदै आएको छ । 

इन्धनमा चर्को कर लगाउँदै आएको सरकार आम जनताको हितका लागि मूल्य बढ्न नदिन निगमलाई अनुदान वा सापटी दिन भने आनाकानी गर्ने गर्छ । सँगसँगै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै उपभोक्ताबाट प्रतिलिटर पाँच रुपियाँ कर उठाउँदै आएको सरकारले अहिलेसम्म उक्त आयोजना बनाउन कुनै चासो दिइको छैन् । 

पछिल्लो समयमा खाद्यान्नदेखि फलफूल, तरकारीको मूल्यसमेत आकाशिएको छ । खाने तेलको मूल्य एक वर्षभित्रै झण्डै दोब्बरले बढेको छ । निर्माण सामग्रीको पनि मूल्यवृद्धि भएको छ । फलामे छड, सिमेन्ट, रोडा, ईट्टा, बालुवा, ढुङ्गा, गिट्टी, काठ, फलाम, स्टिललगायत सामग्रीको मूल्य वृद्धि भएको छ । यसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई समेत कारण बनाइएको छ । 

फलामे छडको मूल्य १० देखि १५ रुपियाँ, सिमेन्टको ५० देखि सय रुपियाँ, पाइपको २५ प्रतिशतसम्मले भाउ बढाइएको छ । मूल्य बढेकै कारण सिजनमा समेत उपभोक्ताले आलु चर्को मूल्यमा किन्न बाध्य भएका छन् । आलुको उपभोक्ता मूल्य काठमाडौंमा सय रुपियाँभन्दा बढी छ । 

प्याज, लसुन जस्ता देनिक उपभोग्य सामग्रीको मूल्य ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । गोलभेडाको मूल्य प्रतिकेजी कम्तिमा ६० रुपियाँ छ जुन दशैं र तिहारको बीचमा सय रुपियाँ भन्दा बढि मूल्यमा किन्न उपभोक्ता बाध्य थिए । सस्तो भनिएको तरकारीको मूल्य पनि प्रतिकेजी ६० भन्दा बढी रहेको छ । 

यही मौकामा विद्युतीय तथा घरायसी सामानको मूल्य पनि बढाउने काम भएको छ । यस्ता समानको मूल्य ५० देखि शतप्रतिशत वृद्धि गरिएको छ । ग्यासको भाउ बढेको बेला विद्युतीय सामग्री किन्न उपभोक्ता आकर्षित भए पनि विद्युतीय सामग्रीको भाउ महंगो हुँदा उपभोक्ता दोहोरो मारमा परेका छन् । 

त्यसबाहेक विशेषगरी जाडोका कपडाहरुमा पनि भाउ बढाउने काम भएको छ । पेट्रोलियम पदार्थ राज्य संचालन तथा नागरिक जिविकाको रक्तसञ्चार भए पनि सरकारले यसको मूल्यवृद्धिको असरलाई नबुझेको अधिकारकर्मी बानियाले बताए । उनले फेरि कुनै आधार र कारण बेलगाम् रूपमा पेट्रोल डिजेल र ग्यासमा मूल्यवृद्धि गरिएको भन्दै उनले उक्त निर्णय फिर्ता गर्न आफूहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पनि जानकारी दिए । 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसमेत रहेका बानियाले मूल्यवृद्धि अनुचित र गैरकानुनी रहेको भन्दै तेस्रो पक्षको सिफारिस र निर्णय बिना आयल निगमको एकपक्षीय निर्णयको आधारमा मूल्य बढाएको, मूल्य बढाउने क्रममा निगमका सबै डिपोहरु रातरात रित्तो पारेर केही सीमित पेट्रोल पम्पलाई पूर्णक्षमतामा पेट्रोल डिजेल दिइएको आरोप पनि लगाए ।  

Advertisement

Advertisement