कर्पोरेट नेपालको प्रधान सम्पादकमा यशोदा तिम्सिना

Advertisement

काठमाडौं । कर्पोरेट नेपालको प्रधान सम्पादकमा यशोदा तिम्सिना नियुक्त भएकी छन् । यस मिडियाको प्रवद्र्धक कम्पनी बिजकेयर नेपाल प्रा.लि.ले उनलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो । 

तिम्सिनाले आजै पदभार ग्रहण गरेकी छन् । आर्थिक विधामा विगत सात बर्षदेखि क्रियाशील यस मिडियालाई थप उचाईमा पुर्याउन उनको अनुभव र भूमिका महत्वपूर्ण हुने आशा लिइएको कम्पनीको भनाई छ । तिम्सिनाले समाजका हरेक क्षेत्र आर्थिकरुपमा सबल नहुँदासम्म संवृद्ध नेपाल निर्माण नहुने भएकाले आफू आफू आर्थिक पत्रकारितासँग जोडिएको बताइन् । 

Advertisement

यशोदा तिम्सिना यसअघि डिसी नेपाल डटकममा सल्लाहकार सम्पादकको रुपमा क्रियाशील थिइन् । करिव दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील उनले सन्ध्याकालीन दैनिक महानगरबाट पत्रकारिता शुरु गरेकी हुन् । 

कान्तिपुर पब्लिकेसनको नेपाल म्यागेजिनमा समेत लामो समय काम गरेर अनुभव हासिल गरेकी तिम्सिना नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुने पहिलो महिला पत्रकार हुन् । उनीभन्दा अघि क्षेत्रीयस्तरबाट मात्रै महिला उपाध्यक्ष भएका थिए।  राष्ट्रिय सूचना आयोगको आयुक्तसमेत भएर एक कार्यकाल काम गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा र पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी छन् । 

साथै, कर्पोरेट नेपालको कार्यालय कमलादीबाट अनामनगरमा सरेको छ । कम्पनीले शनिबार आफ्नो कार्यालय अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकैको भवन (ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमाथि) सारेको हो । 

Advertisement

Advertisement