भन्सार छुटसहित आयातित खाने तेल पुनः प्याकिङ गरी तेस्रो मुलुक पठाउने गरिएको खुलासा

Advertisement

काठमाडौं । दैनिक उपभोग्य वस्तुहरुको मूल्य ह्वात्तै बढदा समेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि पोखेका हुन् । 

Advertisement

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराए । व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खानेतेल फेरि प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएको बताउँदै श्रीवास्तवले सरकारले त्यसबारे छानवीन गरेर यथार्थकुरा बाहिर ल्याउनुपर्ने बताए । 

उनले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्न पनि सरकारलाई निर्देशन दिए । सभापति श्रीवास्तवले भने, ‘विशेष गरेर मन्त्रीजीमार्फत् के भन्न चाहन्छु भने–केही दिन अगाडि सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्ने काम सरकारले गर्नु पर्दछ । जनताको दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ, गहँु आउँछ । औषधिहरु आउँछ । शैक्षिक सामग्रीहरु आउँछ । त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनावश्यक वस्तुमा दिँदा नियत सफा देखिएन ।’ 

मूल्यवृद्धिको विषयमा विस्तृत छानविन गरियो भने स्पष्ट हुन्छ भन्दै उनले थपे, ‘यहाँ त देखिएको पनि छ । अनुगमनको क्रममा २–२ पटक जरिवाना गर्नुहुन्छ । तर, करोडौं घोटाला गर्नेलाई धरौटीमा छाडिदिनु हुन्छ । अनि मूल्यवृद्धि त्यसै भइरहेको छैन् नि ! जस्तो खानेतेलको कस्तो रहेछ सिष्टम भन्दाखेरी तेस्रो मुलुकबाट खानेतेल यहाँ ल्याउने, त्यसलाई फेरि प्याकिङ गर्ने, फेरि तेस्रो मुलुकमा पठाउने । नेपालमा खपत गर्ने समेत उनीहरुले कन्जुस्याई गर्ने । जसले गर्दा यसमा अभाव हुन्छ अनि मूल्यवृद्धि भएर गईरहेको छ । अहिले खानेतेलको मूल्य यहाँहरु आफैलाई अनुभव भइरहेको छ । चिनीमा त्यस्तै छ । मूल्यवृद्धि हुँदा पनि उपभोक्ता चुप लागेर बसेका छन् । कुनै आवाज आएको सुनिएको छैन् ।’

श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महंगी झनै बढेर जाने बताए । 

Advertisement

Advertisement