भारतबाट विद्युत आयात बन्द, भैरहवाका उद्योगहरुमा रातिदेखि पूरै लोडसेडिङ छः मुरारका

Advertisement

काठमाडौं । भारतीय बजारबाट आयात भइरहेको बिजुली गए रातिबाट आउन बन्द भएको छ । प्रतिस्पर्धाका आधारमा हरेक दिन बिडिङ गरेर किन्न गरिएकोमा गए राति आफूहरु बिडिङमा नपरेकाले आयात रोक्किएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले स्वीकार गरे । 

उनले भारतबाट आइरहेको १२ हजार मेगावाट आवर बिजुली रोक्किएको बताउँदै त्यसले गर्दा माग र आपूर्तिमा समस्या आएकाले उद्योगहरुलाई कम उत्पादन गर्न आग्रह गरिएको बताए । भारतबाट विद्युत आयात बन्द भएसँगै भैरहवा क्षेत्रका उद्योग व्यवसाय प्रभावित हुन पुगेका छन् । साथै, यही बेलामा भारतको विहार सरकारले नेपाललाई अहिले कत्ति पनि बिजुली बेच्न नसक्ने मंगलबार जानकारी गराएको छ ।

Advertisement

सोही क्षेत्रमा उद्योग सञ्चालन गर्ने एक उद्योगपति पशुपति मुरारकाले अरु औद्योगिक क्षेत्रमा बिजुली दिएर भैरहवा क्षेत्रमा मात्रै गए रातिबाट विजुली कटौती गर्ने काम भएको बताए । उनले यदि भारतले विजुली दिन बन्द गरेको हो भने सबैलाई समान हिसावले लोडसेडिङ गर्नुपर्नेमा भैरहवा क्षेत्रका उद्योगलाई मात्रै किन लोडसेडिङ गरिएको ? भनी प्रश्न गरे । 

मुरारकाले भने, ‘हिजो रातिदेखि भैरहवामा पूरै लोडसेडिङ छ । शहरमा पूरै नहोला । तर फ्याक्ट्रीहरुमा छ । वीरगञ्जमा उद्योग चल्ने, विराटनगरमा चल्ने । भैरहवामा मात्रै किन लोडसेडिङ गर्नुपर्ने ? हाम्रो भनाई के छ भने लोडसेडिङ गर्ने भए सबै ठाउँमा गर्नुस् मिलाएर । एउटा क्षेत्र पूरै बन्द गरिदिने, अर्कोतिर मात्रै चल्नदिने कति न्यायोचित हुन्छ ?’

प्राधिकरणले विद्युत खरीद सम्झौता (पीपीए) रोकिदिएकोमा पनि उनले असन्तुष्टि पोखे । मुरारकाले एउटा आयोजना बनाउन करिव पाँच बर्ष लाग्ने बताउँदै बर्खामा बिजुली धेरै उत्पादन हुने कुरालाई देखाएर यस्तो माग बढिरहेको बेला पीपीए रोक्नु गलत भएको बताए । उनले उद्योगहरुलाई बिजुली दिने भनेर राज्यले प्रतिवद्धता जनाएकाले बिजुली नदिँदा हुने क्षतिको क्षतिपूर्ति पनि राज्यले नै दिनुपर्ने हो भने ।  

मुरारकाले भने, ‘हिजो बिजुली धेरै भयो, इन्डक्शन चलाउनु भन्ने आज उद्योग चलाउन बिजुली छैन् । भारतको बिजुली महंगो हुन्छ भने नेपालभित्र उत्पादन गर्न दिन किन रोक्ने त ? हामी सहुलियतमा बिजुली दिन्छौं, तपाईंहरु उद्योग खोल्नुहोस किन भन्दैन् सरकार ? यस्तो अनिश्चितताले कसरी देशको विकास हुन्छ ? उद्योगधन्दाको कसरी विकास हुन्छ ?’

प्रवक्ता भट्टराईले भने सकेसम्म लोडसेडिङ हुन नदिने प्रयासमा आफूहरु रहेको बताउँदै आज राति हुने बिडिङपछि आपूर्ति सुचारु हुनसक्ने बताए । उनले भने, ‘आयात बन्द भएको होइन् । बिडिङ नपरेको हो । भारतमा बत्ति निकै महंगो भयो । हरेक दिन हामीले टेण्डर गर्दै आएकोमा गए राति भने बिडिङ गर्दा हाम्रो परेन् । भारतको बिजुली रोक्किएपछि बिद्युत आपूर्ति नपुगेका ठाउँमा बिजुली पुर्याउने प्रयास भइरहेको उनले बताए । 

प्राधिकरणकै अर्का एक उच्च अधिकारीले भने भारतमा विजुलीको भाउ निकै महंगो भएकाले प्राधिकरणले सधैं यति महंगोमा बिजुली किन्न गाह्रो हुने बताए । उनले भारतमा नै विद्युतको माग बढेकाले महंगो हुँदै गएको अवस्थामा आयात गर्दै जाने हो भने प्राधिकरण धरासायी हुने बताए । 

ती उच्च अधिकारीले भने, ‘रुस–युक्रेन युद्धपछि भारतमा आउने कोइलाको आपूर्ति पनि प्रभावित भएकोले त्यहाँ समस्या भइरहेको छ । सुख्खा यामले गर्दा इण्डियाका हाइड्रोपावरहरुको उत्पादन पनि निकै घटेको छ । डिमाण्ड गत बर्षभन्दा करिव २५ प्रतिशतले बढेको छ । किनभने कोभिडको प्रभाव कम भयो नि त । अहिले त्यहाँको डिमाण्ड दुई लाख मेगावाटको हाराहारीमा छ । त्यो भएकाले उर्जा निकै महंगो भएको । दुई–चार दिनअघिसम्म त किन्नसक्ने अवस्थामा मूल्य थियो । अब २० रुपियाँ भारु भइसक्यो । त्यो भनेको नेपाली ३२ रुपियाँ हो । यसमा विभिन्न शुल्क जोड्दा ३३ रुपियाँ हुन्छ । यति महंगो बिजुली किनेर कति दिन चलाउन सकिन्छ र ?’

बिहारले उर्जा संकट सिर्जना भएकाले सहज अवस्था नभएसम्म बिजुली दिन सक्दैनौ भनेर स्पष्टरुपमा जानकारी दिइसकेको बताउँदै त्यस कारणले पनि आजबाटै विद्युत आपूर्तिमा समस्या सिर्जना भएको बताए । प्राधिकरणका ती उच्च अधिकारीले हिउँदमा विद्युत माग र आपूर्तिमा ठूलो खाडल रहेकाले जोखिम लिएर भए पनि राज्यले बिजुली उत्पादन गर्नुको विकल्प नरहेको बताए । 

Advertisement

Advertisement