राष्ट्र बैंकको नागरिक बचतपत्रमा आकर्षण, झण्डै एक अर्बको आवेदन आइसक्योः शाक्य

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन दुई अर्ब रुपियाँ बराबरको नागरिक बचत पत्र जारी गरिएकोमा झण्डै  एक अर्ब रुपियाँभन्दा बढीको आवेदन परेको छ । 

नागरिक बचतपत्र चैत १ गतेबाट आवेदन खुला गरिएको हो । यही चैत २० गतेसम्म बचतपत्रमा आवेदन दिन सकिने छ । पहिलो पटक यो बचतपत्रमा अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । 

Advertisement

नागरिक बचत पत्र २०८३ क नाम दिएको यस बचतपत्रमा आकर्षण बढेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । 

बचतपत्रको ब्याजदर १० प्रतिशत तोकिएको छ भने  व्याज भुक्तानी  ६–६ महिनामा हुनेछ । न्यूनतम १० हजारदेखि बचतपत्र खरिद गर्न सकिनेछ । यो बचतपत्र धितो राखेर राष्ट्र बैंक वा अन्य बैक तथा वित्तिय संस्थाबाट कर्जा लिन सकिनेछ । 

सरकारले आन्तरिक ऋण उठाउने विभिन्न औजारमध्ये नागरिक बचत पत्र एक हो । यो सरकारी ऋणपत्र भएकाले जोखिम नहुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक शाक्यले  बताए । उनले भने, ‘जतिबेला पनि झिक्न मिल्ने, समय अगावै झिकिए पनि मुद्दती निक्षेपजस्तो निश्चत प्रतिशत नकाटिने भएकाले यसमा आकर्षण देखिएको छ ।’

चालु आर्थिक वर्षको हालसम्म सरकारले नेपाल राष्ट्र  बैंकमार्फत ९९ अर्ब ५० करोड रुपियाँ आन्तरिक ऋण उठाएको छ ।  चैत्र मासन्तसम्म एक खर्ब १० अर्ब रुपियाँ आन्तरिक अण उठाउँने सरकारको लक्ष्य छ । यो वर्ष सरकारले झण्डै साढे दुई खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement