श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा दिइने, आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

Advertisement

कोलम्बो । श्रीलंकाले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

Advertisement

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी बिदा दिने निर्णय पनि गरेको छ । 

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् । 

आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
यसैबीच, श्रीलंकामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । 

श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मङ्गलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने अनुमान गरिएको जानकारी दिएका छन् ।

बैठकमा जाफ्ना विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र नयाँ नयाँ भ्रमण प्याकेजहरु बनाउन सुझाव दिएका थिए । 

त्यसैगरी पर्यटकहरुलाई दिइने सेवा सुविधालाई गुणस्तरीय, विविधता र सन्तुष्टिपूर्ण बनाउन पनि उनले आग्रह गरेका थिए । पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योग बनाउँदै आएको श्रीलंकाले कोरोना भाइरसको महामारीका कारण थिलो थिलो भएको पर्यटन उद्योगलाई फेरि सक्रिय बनाउने कसरत थालेको छ । 

श्रीलंकामा अहिले आर्थिक संकट उत्पन्न हुनुमा महामारीका बेला पर्यटन उद्योगमा ठूलो घाटा लाग्नुलाई पनि मुख्य कारण मानिन्छ । आर्थिक संकटका कारण श्रीलंकामा राजनीतिक उथलपुथल भएको छ भने अहिले पनि मूल्य बृद्धि र अभाव सृजना भएको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement