कपुरकोट बन्यो मोवाइल एप्स सुरु गर्ने पहिलो गाउँपालिका, कृषिसम्वन्धी सबै जानकारी पाइने

Advertisement

सल्यान । कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणाली प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक युवराज आचार्यले कृषिसंग सम्बन्धीत मोवाइल एप्स अन्य निकायले ल्याएको भए पनि स्थानीय तहहरुमध्ये नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको दाबी गरे ।

‘कृषि कपुरकोट’ नामक मोवाइल एप्लिकेशन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारी प्राप्त गर्न सक्ने छन् । किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवामार्फत घरमै बसेर पनि विविध जानकारी लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचनारसमाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरण समेत एप्समा उपलव्ध रहेका छन् ।

‘किसानले आफ्ना समस्या मोवाइल एप्सबाटै कृषि विज्ञलार्इ च्याटमार्फत राख्न तथा फोन गरेर सोध्न सक्ने भन्दै रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलार्इ माथी उठाउन एप्लिकेशनले ठूलो सहयोग पुर्याउने हाम्रो अपेक्षा छ ।’ विशेषगरि कपुरकोट ताजा तरकारी र फलफुल खेतीका लागि ख्याति कमाएकाले किसानलार्इ नयाँ नयाँ प्रविधिबारे जानकारी गराउन र खेती गर्दा आइपर्ने समस्या तत्काल समाधान गरि घाटा हुन नदिन एप्सलार्इ उपयोग गर्नुपर्ने धारणा गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बताए ।

सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसँगै किसानको हातहातमै सूचना पुर्याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्स सार्वजनीक गरेको बताए । उनले भने, ‘किसानका लागि यो एउटा महत्वपूर्ण एप्स हो । सबैले आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने तथा अरुलाइ पनि यो एप्स राख्नका लागी सूचना प्रवाह सबैले गर्नपर्छ ।’ साथै अध्यक्ष सेनले एप्लिकेशनमा नयाँ नयाँ जानकारी तथा विवरणहरु थप गर्न र किसानका समस्या समाधान गर्न कृषि, पशु सेवा शाखाका प्राविधिकहरुलार्इ निर्देशन दिए ।

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरु किसानबीच हस्तान्तरण गर्न एप्स उपयोगी मानिएको छ । कृषकलाई प्रविधिसँग जोड्न ल्याइएको यस एप्सले किसानले कुनै समस्याको प्रश्न पठाए उत्तर पनि दिने भएको हुँदा किसानलाई सहज बनाउने कपुरकोट गाउँपालिकाको अपेक्षा छ ।

कृषि साथीको रुपमा आएको यस एप्सलाइ प्रयोग गरेर किसानहरुले प्रविधिको विकाससंगै आफुलाइ पनि अपडेड गर्नुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल बताउँछन् । कृषि लगायत हरेक क्षेत्रमा प्रविधिको भरपुर प्रयोग गरेमा निकै फाइदा र सहज हुने उनको भनार्इ छ । ‘कृषि कपुरकोट’ नामक मोवाइल एप्स कुनै पनि स्मार्ट फोनमा प्ले स्टोरबाट डाउनलोड गर्न सकिने र सबै जानकारीहरु नेपालीमै उपलव्ध रहेको पौडेलले बताए ।

Advertisement

Advertisement