नेपालको लगानीको बाताबरणको सुधार राम्रो रहेको विश्व बैंककोे दावी

Advertisement

काठमाडौँ । पछिल्लो छ महिनामा लगानीमैत्री वातावरण निर्माण गर्नेमा नेपाल विश्वकै उत्कृष्ट मुलुकमा सूचीकृत भएको छ । विश्वभर वैदेशिक लगानी प्रवद्र्धनका लागि भइरहेको प्रयासमा पछिल्लो छ महिनामा नेपाल १८६ राष्ट्रमध्ये पहिलो बनेकोे हो । विश्वव्यापी रूपमा बैङ्किङ, पुँजीबजार लगानी, विदेशी विनिमय, क्षेत्रीय बजार लगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीको अध्ययनले यस्तो देखाएको हो ।

सन् २०१९ जनवरीदेखि जुनसम्मको अवस्था अध्ययनका आधारमा तयार गरिएको ‘युरोमनी रिस्क सर्भे’मा नेपालको प्रयासले पाँच दशमलव पाँच अङ्क पाएर उत्कृष्ट स्थान हासिल गरेको हो । विस्तृत सर्वेक्षणका रूपमा गरिएको यो अध्ययनमा १८६ देश समेटिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “विश्वकै सर्वोच्च शिखरको देश भनेर चिनिने नेपाल यसपटक जोखिमको विस्तृत सर्वेक्षण गर्दा लगानी वातावरण सुधार तीव्र रूपमा गर्नेको सूचीमा समेत सर्वोच्च बनेको छ ।”

सर्वेक्षणमा नेपालपछि माल्दिभ्स एक दशमलव ७९ अङ्कका साथ दोस्रो स्थानमा छ भने इथियोपिया शून्य दशमलव ९३ अङ्कसहित तेस्रो स्थानमा छ । बङ्गलादेश १०औं स्थानमा छ । यो सुधारका आधारमा लगानीको उपयुक्त वातावरण भएका मुलुकको सूचीमा गत वर्षभन्दा १४ स्थान माथिसमेत आइपुगेको छ । अघिल्ला चार वर्षमा औसत दुई मात्र थियो । रिपोर्टमा समग्रमा नेपाल ३१.८ अङ्कसहित १३५औं स्थानमा आइपुगेको हो । वैदेशिक लगानीको आकर्षक गन्तव्य बनिरहेको छिमेकी मुलुक बङ्गलादेश ३२.५ अङ्कका साथ १३०औँ स्थानमा छ ।

सर्वेक्षणमा लगानीको वातावरणका १५ विभिन्न जोखिमलाई आधार बनाएर सूचक निर्धारण गरिएको थियो । यसमा नेपालको राजनीतिक, आर्थिक तथा संरचनागत क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गरिएको छ ।

अध्ययनले नेपालको लगानीमैत्री वातावरणमा तीव्र गतिले सुधार आउनुमा मुख्य कारणका रूपमा राजनीतिक स्थिरतालाई मानेको छ । त्यसैगरी गएका दुई वर्षमा भएको आर्थिक वृद्धि, सङ्घीयताको संस्थागत विकास र न्यून मुद्रास्फ्रीतिलाई पनि आधार कारण भएको औँल्याइएको छ ।

रिपोर्टमा भनिएको छ, “लगानीका लागि नेपाल झन् सुरक्षित बन्दै छ र विगतमा बेवास्ता गरिएका तर महत्वपूर्ण क्षेत्रमा नयाँ अवसर खोलिरहेको छ ।”

गत चैतमा सम्पन्न लगानी सम्मेलन, त्यसअघि र पछि निरन्तर भइरहेका नीतिगत, कानुनी तथा संरचनागत सुधार र सरकारको सक्रियताका कारण लगानीको वातावारण तीव्र गतिले सुधार भइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले टिप्पणी गरे ।

“नयाँ संविधान र स्थिर सरकारले सिर्जना गरेको राजनीतिक स्थिरताले लगानी गर्ने वातावरण दिएको हो”, अधिकारीले थपे, “प्रधानमन्त्रीसहित समग्र सरोकारवाला नेपालमा लगानीमैत्री वातावरण निर्माण गरेर समृद्धि अभियानमा लागिरहेका कारण सबै उत्साहित हुने अवस्था आएको हो ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement