चिनियाँ राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न झण्डै एक दर्जन एजेण्डा तयार गर्दै नेपाल

Advertisement

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ । नेपालको छिमेकी र शक्तिशाली मुलुकका राष्ट्रप्रमुख २३ बर्षपछि नेपाल आउन लागेको मौका छोपेर केपी ओली नेतृत्वको सरकार पनि उनलाई खुशी पार्ने र अधिकतम् लाभ लिने तयारीमा जुटेको छ ।

परराष्ट्र मन्त्रालयले सीको नेपाल भ्रमणको क्रममा बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गसहित झण्डै वटा विषयमा सम्झौताका लागि मस्यौता तयार पारेको हो । नेपालले तयार पारेका सम्झौता तथा सहमतिको खाकामा सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक क्षेत्र, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय परेका छन् ।

काठमाडौं–केरुङ रेल मार्गबाहेक नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुनसक्ने अपेक्षा नेपालको सरकारी पक्षको देखिन्छ । यसका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरिएको छ। केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने कुरामा अहिले सम्झौता हुने अनुमान गरिएको छ ।

यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ। त्यस्तै, ७६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान, तातोपानी–काठमाडौं सडकको स्तरोन्नती, बाणिज्य तथा पारवहन सन्धीको कार्यान्वयन जस्ता कुराहरु चिनियाँ राष्ट्रपतिसँगको द्धिपक्षीय वार्तामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल आउन लागेकाले पनि उनको यो भ्रमण निकै अर्थमन्त्री मानिएको छ । आफ्नो विश्वव्यापी परियोजना बीआरआई सफल बनाउन समर्थन पनि खोजिरहेको चीनले छिमेकी नेपालको विकासका लागि विशेष सहयोग गर्ने नेपाली पक्षको अपेक्षा रहेको छ । बहुपक्षीय रणनीतिका साथ नेपाल आउन लागेका सी को नेपाल भ्रमणका क्रममा सावधानीपूर्वक वार्तामा प्रस्तुत हुन कुटनीतिक क्षेत्रका जानकारहरुले सरकारलाई सुझाव पनि दिएका छन् ।

छिमेकी चीनबाट विरलै हुने नेपाल भ्रमणलाई सदुपयोग गरी राजनीतिक र आर्थिकरुपमा फलदायी बनाउने सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् । उनको स्वागतका लागि करोडौं रुपियाँ खर्चिएर गरिएको सजावट, राष्ट्रपति र प्रधानमन्त्री आफै स्वागतका लागि विमानस्थलसम्म जाने कुरा जस्ता कुराले पनि सरकार सीलाई हृदयदेखि स्वागत गरेको देखाउन लागिपरेको देखिन्छ । नेपालले एक चीन नीतिलाई स्वीकार गर्दै त्यसमा पटक पटक प्रतिवद्धता जनाएको पनि छ । तर पछिल्लो समयमा चीनविरोधी गतिविधि बढेको भन्दै उसले चिन्ता जनाउन छोडेको छैन् ।

 

Advertisement

Advertisement

Advertisement