भारतले रेल सम्झौता रद्द गर्न पत्र पठायो, थन्किएका रेल कवाडीलाई बेच्नुपर्ने ! (प्रमाणसहित)

Advertisement

काठमाडौं । भुक्तानी नदिएको भन्दै भारतीय रेलवे कम्पनीले सम्झौता रद्द गर्न नेपालको रेलवे कम्पनीलाई पत्र पठाएको छ । कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले राजीनामा दिएकै दिन बुधबार कम्पनीले त्यस्तो पत्र पठाएको हो । 

सम्झौताअनुसार आफूले पाउनुपर्ने २० प्रतिशत रकम पटक पटक आग्रह गर्दा पनि नदिएको भन्दै कोङकण रेल्वे कम्र्पोरेशन लिमिटेडले नेपालको रेलवे कम्पनीलाई पत्र पठाएको हो । नेपाल भारतबीच जयनगर–कुर्ता रेल सेवा सञ्चालन गर्न भएको यो सम्झौता रद्द भए नेपाल आएको विगत ११ महिनादेखि थन्किएका रेलहरू कवाडीलाई बिक्री गर्नुपर्ने हुन्छ । कोङकर्णलाई कुल २२ करोड रुपियाँ भुक्तानी गर्नुपर्नेमा त्यसको २० प्रतिशत यसअघि नै भुक्तानी गर्नुपर्ने थियो ।

Advertisement

पूर्वाधार तयारीविना आइपुगेका रेल सञ्चालनका लागि पूर्वाधार निर्माण गरेर दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी भइरहेको बेला कोङकणको पत्रले नयाँ तरंग ल्याउने देखिएको छ । पत्रमा आफूले सम्झौताअनुसार भुक्तानी नपाएकाले जयनगर–कुर्ता रेल सेवा सम्झौता रद्द गर्ने चेतावनी दिइएको छ । 

रेल सञ्चालनका लागि भारतमै निर्मित दुई वटा रेलहरू आएर थन्किएका छन् भने बाँकी पार्टपुर्जा, जनशक्ति पनि कोङकणले नै व्यवस्थापन गर्ने कुरा सम्झौतामा छ । तर नेपाल रेलवे कम्पनी राजनीतिक हस्तक्षेपको चपेटामा परेको बेला भारतीय पक्षले पनि सम्झौता रद्द गर्ने चेतावनी दिएपछि रेल चढ्ने नेपालीको चाहना झन अन्योलमा परेको छ । 

सम्झौताअनुसार २०२१ जुन २१ सम्ममा २० प्रतिशत अग्रिम रकम पाउनुपर्नेमा नपाएको र आवश्यक तयारीका लागि नेपाली पक्षबाट ढिलाई गर्ने काम हुँदै आएको भन्दै कोङकणले असन्तुष्टि जनाएको छ ।  नेपाल रेलवेले कर्मचारी व्यवस्थापनका लागि भन्दै दरखास्त आव्हान गरे पनि लोकसेवा आयोगले प्रक्रिया रद्द गरिदिएपछि कम्पनी समस्यामा परेको थियो । रेल सञ्चालन नहुँदा रेलको लिकका उपकरणका साथै कार्यालयका सामानसमेत चोरी भएका समाचार आएका थिए । 

के भन्छन् भट्टराई ? 
यो अवस्था आउनु दुर्भाग्य हो । उनीहरूले डेढ करोड रुपियाँभन्दा बढिको तालिम हामीले अग्रिम भुक्तानी बिना नै दिइसकेको छ । त्यो भनेको मप्रतिको विश्वासले हो । जबकी कन्ट्राक्ट नै साइन गरेको थिएन् । किनभने काम छिटो गर्नुछ । चाँडै रेल चलाउनुपर्छ । रेल आएर बसेको धेरै भयो चाँडै गरौं भनेर हो । कन्ट्राक्स साइनको प्रक्रिया मिलाउँला, कर्मचारीलाई तालिम चाहीं सुरु गरिहालौं भनेर काम सुरु गरिएको थियो । 

त्यसपछि एडभान्स रकम पठाउनुपर्ने । त्यसका लागि तयारी भइरहेको थियो । एकै पटक स्पष्टिकरण पो आउँछ । मैले अस्ति भनेको पनि थिएँ यस्तो क्रिटिकल अवस्थामा मैले धानेर बसेको छु । भोलि समस्या आउन सक्छ । मैले अहिले दबाबका कारण राजीनामा दिए पनि प्रक्रिया नरोकियोस् । रेल चल्नुपर्छ । यो राष्ट्रको कुरा हो भनेर लागिरहेको छु । यति ठूलो लगानी भएर भारतसँगको दुईपक्षीय समझदारीमा अघि बढेको प्रक्रिया भएकाले यो प्रक्रिया रद्द हुँदा देशलाई आर्थिकरुपमा ठूलो क्षति हुन्न । मुलुकको प्रतिष्ठामा आँच आउँछ । नेपाली जनताको रेल चढ्ने चाहना अपूरै हुन्छ भनेर मैले पदमा नभए पनि प्रयास गरिरहेको छु । 

मैले सबै काम सक्किएको छ, दुई देशका प्रधानमन्त्रीबाट उद्घाटन गराएर छोडिदिन्छु भन्दा पनि नमानेपछि राजीनामा दिएको हो । मेरो विश्वास कोङ्कर्णले धेरै काम गरिरहेकाले मैले छोड्नासाथै समस्या आउनसक्छ भनेको थिएँ । संयोग पनि त्यस्तै भयो । उसले पत्र पठाएको छ । सायद नेपालको राजनीतिक समस्या बुझेर भुक्तानी पनि नआउने, काम पनि नहुने देखेर पत्र पठाएको होला । 

नेपाल रेलवे कम्पनीलाई मैले बच्चादेखि हुर्काउँदै ल्याएर अहिले तीघ्रा, पाखुरा भएको अवस्थामा ल्याएको थिएँ । यति भइसकेपछि यसलाई विष खुवाएर मार्न दिन हुन्न भनेर प्रयास गरिरहेको छु । पदमा नभए रेल चलाउने प्रक्रिया नरोकियोस भन्नेमा छु । नेपालको राजनीति त यस्तै हो । यहाँ कसैले गरेको कामको मूल्यांकन हुन्न । देशको चिन्ता पनि यिनीहरूलाई छैन् । जसरी हुन्छ सत्ता चाहिएको छ । जसरी हुन्छ स्वार्थ पूरा हुनुपर्छ । 

कोङकर्णले नै पटक पटक चाँडै काम गर, एडभान्स पठाउँ, नत्र टर्मिनेट गर्छु भनेर भन्या भन्यै थियो । मैले अनुरोध गर्दै काम हुँदैछ भन्दै रोक्दै, फकाउँदै आएको थिए । तर नेपालमा त हरेक कुरामा ढिलासुस्ती छ । अवरोध छ । धेरै पक्षलाई चित्त बुझाएर काम गर्नुपर्ने बाध्यता छ । मलाई तराईमा हरेक दिन ज्यान मार्ने धम्की आउँथ्यो । तर पनि मैले नडराइकन आफ्नो काम गर्दै आएको थिएँ । भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको थिएँ । 

कोङकर्णसँगको सम्झौता रद्द भयो भने नेपालमा रेल चलाउने अर्को कुनै विकल्प छैन् । उसैसँगै फेरि सम्झौता गर्न उसले मान्ला वा नमान्ला, यदि दुई देशका उच्च तहले कुरा गरेर सम्झौता गरिहाले पनि उसले के विश्वासले काम गर्ला ? एक पटक विश्वास गुमिसकेपछि । रेल सेवाको काम गर्ने भारतमा अर्को कम्पनी पनि छैन् । चीनसँग यही काम हामीले गर्न सक्दैनौ । किनभने यो नेपाल भारतबीचको रेल सेवा हो । धेरै प्रक्रियागत र कानुनी जटिलता छ । यो धेरै हाम्रा नेताले बुझ्दैनन् । रेल चलाउने मात्रै भनेर हुँदैन् । भोलि सर्भिसिङ गर्नुपर्ने हुन्छ । नियमित मर्मत गर्नुपर्ने हुन्छ । प्राविधिक कर्मचारी ल्याएर मात्रै पनि चल्ने कुरा होइन् । अहिलेको सम्झौता रद्द भयो भने अहिलेको रेल कवाडीलाई बेच्नुको कुनै विकल्प हुन्न । एक अर्बरुपियाँभन्दा धेरै तिरेर ल्याएको रेल खेर जान्छ । त्यस्तो नहोस भन्ने मेरो कामना छ ।


 

Advertisement

Advertisement