के शेयर बजारमा सुधार नआउने नै हो ? आम लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

Advertisement

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि नेपालको पूँजी बजारमा देखिएको हलचल र अस्थिरता जारी छ । पूँजी बजार सुधार संघर्ष समितिले त नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामाको माग गर्दै अनशन पनि थाल्यो । पछि प्रहरीले हस्तक्षेप गरी अनशन रोक्नुपर्यो । 

राष्ट्र बैंकले २०७८ भदौ ५ मा ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको’ भनी निर्देशिका जारी ग¥यो । ‘निर्देशिका जारी हुनुपूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रूपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ, सो अवधिभित्र नियमित गरिसक्नुपर्ने’ व्यवस्थाले झन लगानीकर्ता आक्रोसित भए । 

Advertisement

निर्देशिकामा पुराना कर्जाका सन्दर्भमा समयसीमा किटान गरिएको छ । राष्ट्र बैंकले २०७८ साउन २९ मा सार्वजनिक गरेको मौद्रिक नीतिमा नै एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र सेयर धितो लिनसक्ने व्यवस्था मिलाइने उल्लेख छ । सोही नीतिअनुसार निर्देशिका जारी गरेको हो ।

सेयर बजारका लगानीकर्ताले यसअघि आफूले चाहेको बैंकबाट जति पनि सेयर धितो कर्जा लिन पाउने व्यवस्था थियो । नयाँ मौद्रिक नीति आएपछि सेयर बजार परिसुचक नेप्से अस्वाभाविक रूपमा घटबढ गर्न थाल्यो । र पछिल्ला दिनमा गिरावट उच्च हुँदै गएको छ भने कारोबार पनि घटेर रु. ५ अर्बसम्ममा झरेको छ । 

शेयर बजार निरन्तर घटिरहेकैले लगानीकर्ताका अगुवा राष्ट्र बैंकको सेयर कर्जासम्वन्धी नीतिको कडारुपमा विरोध गरिरहेका छन् । यस्तो कर्जाको सीमा हटाउनुपर्ने माग गर्दै उनीहरूले अर्थमन्त्रीमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई दबाब पनि दिइरहेका छन् । 

बजारमा पारेको असर
राष्ट्र बैंकले ल्याएको कर्जा नीतिका कारण सेयर बजारमा निकै ठूलो प्रभाव देखिएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि भदौको पहिलो आइतवार नै नेप्सेमा भारी गिरावट आयो । कारोबार सुरु भएको दुई घण्टा नपुग्दै नेप्से पाँच प्रतिशतभन्दा बढीले घटेर नकारात्मक ‘सर्किट’ लाग्यो । ४० मिनेटका लागि कारोबार बन्द भयो । यसपछि खुलेको बजार पनि अस्थिर भइरह्यो । नेप्से १०८ अङ्कभन्दा बढीले घट्यो । दोस्रो दिनविपरीत दृश्य देखियो । नेप्से परिसूचक १६१.९४ प्रतिशतले बढ्यो । सेयर बजारमा अस्वाभाविक उतारचढाव जारी छ र यसले महिना दिन बितिसक्दा पनि लय समाउन सकेको छैन् ।

सेयर बजारमा सामान्य उत्तारचढाव आउनुलाई यसको सुन्दरता मानिन्छ । अस्वाभाविक उत्तारचढावले लगानीकर्तामा भय र त्रास बढाउँछ । अस्वाभाविक गिरावट जारी रहँदा शेयर बजारमा भर्खर भर्खर प्रवेश गरेका नयाँ लगानीकर्ता थप जोखिममा पर्ने र उनीहरू नफर्किने अवस्था सिर्जना हुन्छ । डिजिटल प्रहरीलेको विकासले गर्दा अहिले लाखौं लगानी लगानीकर्ता शेयर बजारमा लगानी गर्न आकर्षित भएको अवस्था छ । त्यस्ता लगानीकर्तालाई कसरी टिकाइराख्ने ? भन्ने चुनौति अहिले सिर्जना भएको छ । 

राष्ट्र बैंकले ल्याएको नीतिले सेयर बजारमा नराम्रो असर पारेको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की बताउँछन् । उनी भन्छन्– नियामक निकायले कुनै पनि नीति तथा कार्यक्रम ल्याउँदा त्यसले पार्ने प्रभावबारे विचार गरेर ल्याउनुपर्छ । शेयर बजार सानो कुराले पनि असर पार्ने क्षेत्र हो । यस्तो कुरामा नियामकहरू गम्भीर भएको देखिएन् । 

मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा कडाई गरिएसँगै लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वमा बनेको पूँजी बजार सुधार संघर्ष समितिले सेयर बजारमा आएको अस्वाभाविक उतारचढावका लागि राष्ट्र बैंक जिम्मेवार रहेको ठह¥याएको छ । समितिले गभर्नर अधिकारीको राजीनामा र शेयर धितो कर्जामा कडाई गर्ने नीतिको खारेजीसहित १६ बुँदे माग राखेको छ । ढकालको एकदिने संयोजनपछि समितिको संयोजन रोहन कार्कीले गर्दै आएका छन् । कार्की भन्छन्– ‘नियामक निकायले ल्याएको नीतिप्रति हाम्रो विरोध जारी छ । अबका दिनमा देशव्यापी रूपमा संगठित संस्था बनाएर विरोध गर्ने योजना बनाएका छौं । आदित्य शवाकोटीको संयोजनमा एक दिन आमरण अनसन पनि भयो । 

तर अर्को पक्ष शेयर धितो कर्जाले बहुसंख्यक लगानीकर्तालाई नभई सीमित संख्यामा रहेका र शेयर बजारको खेलाडीको रुपमा चिनिएकाहरूलाई मात्रै समस्या परेको हो । धेरै लगानीकर्ताले आफूले दुःख गरेर कमाएको पैसा नै लगानी गर्ने भएकाले उनीहरूलाई यस नीतिले कुनै असर गर्दैन् । तर नेपालको शेयर बजार केही सीमित व्यक्तिको स्वार्थमा घटबढ गराउने प्रवृत्ति रहेकाले त्यसको मार साना र लगानी लगानीकर्ता पनि हुनुपरेको विश्लेषकहरूको छ । 
    
राष्ट्र बैंक के भन्छ ?
मौद्रिक नीतिको अभिप्राय ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने’ रहेको छ । गभर्नर अधिकारीले नयाँ तथा साना लगानीकर्ताको लगानी धराशायी नहोस् भनेर राष्ट्र बैंकले शेयर बजारका लागि बेला–बेलामा नयाँ नीतिहरू ल्याउने गरेको बताउँदै आएका छन् । केही सीमित ठूला लगानीकर्ताले बैंकलाई धम्क्याउँदै मोटो रकम शेयर धितो कर्जा लिन थालेकाले उक्त नीतिको आवश्यकता परेको पनि राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक नीति जारी भएपछि त्यसको आधारमा सर्कुलर गरिएको सेयर धितो कर्जासम्बन्धी निर्देशन कार्यान्वयनमा आएको एक महिना मात्रै भएकोले त्रैमासिक समीक्षाअघि त्यसमा छलफल र संशोधन हुन नसक्ने बताउँछन् । उनी भन्छन्– केही ठूला लगानीकर्ताभन्दा पनि आम लगानीकर्ताको हित हेरेर राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

शेयर बजारमा गरेको लगानीले अर्थतन्त्रमा ठूलो योगदान गर्दैन, रोजगारी बढाउँदैन, उत्पादनमूलक वा सेवामूलक उद्योगले जस्तो अर्थतन्त्रलाई खासै योगदान दिँदैन भन्ने सरकारी पक्षको विश्लेषण छ । त्यसैले सीमित लगानीकर्ताभन्दा माथि उठेर बृहत् लगानीकर्ताको हितलाई दृष्टिगत गरेर राष्ट्र बैंकले मार्जिन कर्जाको नीति लिएको ढकालको तर्क छ । 

थोरैको पोल्टामा कर्जाको फाइदा
शेयर बजारमा प्रवेश गर्नेको सङ्ख्या दिनदिनै बढिरहेको छ । ३१ भदौसम्ममा ४३ लाख ७४ हजार ३४ जनाले शेयर बजारमा लगानी गर्न डिम्याट खाता खोलेका छन् । मेरो शेयरमा खाता खोल्ने लगानीकर्ता पनि ३४ लाख ७२ हजार पुगेका छन् । दैनिक अनलाइनबाट कारोबार गर्ने लगानीकर्ता नै नौ लाखभन्दा बढी भइसकेका छन् ।

शेयरको बजार मूल्य वा १८० दिनको भारित औसत मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले तोकेको ७० प्रतिशत मूल्याङ्कनको सीमामा रहेर बैंक तथा वित्त कम्पनीहरूले लगानीकर्तालाई ऋण दिँदै आएका छन् ।शेयर धितो राखेर कर्जा लिनेको सङ्ख्या ०.११ प्रतिशत छ । यसरी कर्जा लिनेमा ठूला लगानीकर्ता नै धेरै भएको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७७–७८ सम्ममा आठ हजार ५६४ जनाले बैंक तथा वित्त कम्पनीबाट शेयर धितोमा रु. एक खर्ब चार अर्ब ३७ करोड ७० कर्जा लिएका छन् । यसमध्ये दुई जनाले एक अर्ब ५० करोड रुपियाँभन्दा माथि ऋण लिएको देखिन्छ । यस्तै दुई जनाले एक अर्बदेखि ५० करोड रुपियाँसम्मको शेयर धितो कर्जा लिएका छन् । 

यस्तै छ जनाले ५० करोड रुपियाँदेखि एक अर्ब रुपियाँसम्म कर्जा लिएका छन् भने ५८ जनाले २० करोडदेखि ५० करोड रुपियाँसम्म यस्तो कर्जा लिएका छन् । यसैगरी, ६३ जनाले १२ करोडदेखि २० करोड रुपियाँसम्म, ३८० जनाले चार करोडदेखि १२ करोड, एक हजार १४३ जनाले एक करोडदेखि चार करोड, र छ हजार ९१० ले एक करोड रुपियाँभन्दा कम सेयर धितो कर्जा लिएको राष्ट्र बैंकको विवरणबाट देखिन्छ । 

‘बिस्तारै लयमा आउँछ शेयर बजार’
वित्तीय क्षेत्रको अवस्थालाई मूल्यांकन गर्दै शेयर बजारलाई पारदर्शी बनाउन राष्ट्र बैंकले बेला बेलामा नियमहरू ल्याउनसक्छ भने भए अहिले नै यस्तो नीति ल्याउन आवश्यक नरहेको तर्क बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको छ । उनी भन्छन्– अचानक आउने यस्ता नीतिले बजारमा नकारात्मक असर देखाउँछ । तर, केही समयमा बजारले आफ्नो लय समाउँछ । 

राष्ट्र बैंकले शेयर बजार सुधारका लागि भन्दै ल्याएको नीति तथा निर्देशनले सुरुवाती समयमा केही समस्या निम्तिए पनि पछि भने विस्तारै बजारले लय समाउने धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष तथा प्रवक्ता निरज गिरी बताउँछन् । 

शेयर बजार विश्लेषक अनलराज भट्टराई बैंकको नीतिले ‘सर्ट टर्म’मा केही समस्या देखिए पनि विस्तारै बजार सुधारको बाटोमा फर्किने विश्लेषण गर्छन् । उनी भन्छन– अहिले बजार बेस्सरी घटेको छ । तर, योभन्दा दुई वर्षअघि एक अर्ब रुपियाँको कारोबार नहुने अवस्था थियो । शेयर बजारमा अहिले कम्तिमा पनि पाँच अर्ब रुपियाँभन्दा धेरैको कारोबार भइरहेको छ । बजारमा नयाँ कम्पनीसँगै नयाँ लगानीकर्ताको प्रवेश पनि उत्साहजनक छ । यसले गर्दा बिस्तारै शेयर बजारले आफ्नो बाटो लिन्छ । 

राष्ट्र बैंकको पछिल्लो नीति दीर्घकालीन लगानीकर्ताका लागि राम्रो रहेको र यसले साना तथा नयाँ लगानीकर्तामा सकारात्मक प्रभाव पार्ने भट्टराईको भनाई छ । उनी थप्छन– राष्ट्र बैंकको यस नीतिले ठूला लगानीकर्तालाई केही हदसम्म असर गरेको छ । यसकारण बजारमा छोटो समयमा उत्तार चढाव देखिएको हो । विस्तारै बजार संयमित हुँदै जाँदा दीर्घकालीन रूपमा राम्रो हुन्छ ।

यसैबीच राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गरे पनि शेयर धितो राखेर अरू व्यवसाय गर्न भने कुनै पनि सीमा नराखेको स्पष्ट पारेको छ । उद्यमी व्यवसायीहरूले उद्योग व्यवसायका लागि कर्जा लिँदा अन्य धितोसँगै शेयरसमेत धितो राख्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । उनका अनुसार, बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनका लागि प्रवाह गरेको कर्जा लिन अन्य सम्पत्ति धितो राखेसरह अतिरिक्त धितोमा शेयरसमेत राख्न सक्छन् । यद्यपि आम लगानीकर्ता भने यतिबेला पर्ख र हेरको अवस्थामा छन् । मुलुकको राजनीतिक परिस्थितिसँगै नीतिगतरुपमा देखिएको अस्थिरताका कारण धेरै लगानीकर्ता लगानी बढाएर जोखिम मोल्ने अवस्थामा देखिन्न्

राष्ट्र बैंकले अन्य संस्थाको शेयर किन्नेदेखि बाहेक व्यवसाय गर्न शेयर धितो राखेर दिइने कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा लागू नहुने व्यवस्था गरेको छ । 

(यो आलेख सञ्चारिका समूह नेपालका लागि तयार गरिएको हो । )

Advertisement