कुन बैंकको कुन कुन लघुवित्तमा क्रस होल्डिङ ?, मर्जरमा जान राष्ट्र बैंकले दियो दबाब

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकसँग क्रस होल्डिङमा रहेका लघुवित्तलाई मर्जरमा जान दबाब दिएको छ । कुन बैंकको कुन लघुवित्तमा कति प्रतिशत लगानी छ ? त्यसको अध्ययन गरेर कति प्रतिशतसम्म लगानी भएका कम्पनीलाई मर्जर गराउने भन्ने विषयमा अध्ययन भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । 

आउँदो असारभित्रै मर्ज गरिसक्नेगरी तीब्रताका साथ काम भइरहेको स्रोतले बतायो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त संस्थाहरु एक आपसमा अनिवार्य रुपमा गाभिनुपर्ने व्यवस्था गरेको थियो । 

Advertisement

सोही व्यवस्थाअनुसार २२ वटा लघुवित्त कम्पनीलाई १४ बैंकले मर्जरमा लैजानुपर्ने देखिन्छ । तर, कतिसम्म क्रस होल्डिङ भएका लघुवित्त अनिवार्य मर्जरमा जानुपर्ने हो ? भन्ने कुरा भने अहिलेसम्म तय भएको छैन् । 

राष्ट्र बैंकले उक्त कुरालाई पनि ध्यानमा राखेर अनुसन्धान गरिहेको जानकारी दिएको छ । यता लघुवित्त कम्पनीहरूले पनि मर्जरमा जानको लागि कति प्रतिशतसम्म क्रस होल्डिङ भए अनिवार्य गर्ने ? भन्ने राष्ट्र बैंकको निणर्यको पर्खाइमा रहेको बताएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म सञ्चालनमा रहेका लघुवित्तको संख्या ७० भन्दा धेरै रहेको छ । 

कुन बैंकको कति वटा लघुवित्तमा लगानी ? 
स्रोतका अनुसार १४ वाणिज्य बैंकले २२ वटा लघुवित्त कम्पनीमा लगानी गरेको पाइएको छ । नबिल बैंकले नाडेप लघुवित्तमा २५ प्रतिशत लगानी गरेको छ । सोही बैंकले निर्धन उत्थान लघुवित्तमा १० प्रतिशत, छिमेक लघुवित्तमा १२ प्रतिशत, स्वावलम्बनमा १२ प्रतिशत र डिप्रोक्समा ९ प्रतिशत संस्थापक शेयर लिएको छ  । 

ग्लोबल आईएमई बैंकले ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फस्ट माइक्रोफाइनान्समा ११ प्रतिशत, मेरो माइक्रोफाइनान्समा १४ प्रतिशत, स्पर्श लघुवित्तमा १६ प्रतिशत लगानी गरेको छ । कुमारी बैंकको नेसनल माइक्रोफाइनान्समा २० प्रतिशत, मेरो माइक्रोफाइनान्समा सात प्रतिशत र फस्ट माइक्रोफाइनान्समा दुई लाख ४ हजार कित्ता शेयर लगानी गरेको छ  । लक्ष्मी बैंकले लक्ष्मी लघुवित्तमा ७० प्रतिशत र स्वावलम्बनमा चार प्रतिशत लगानी गरेको छ  । 

यस्तै, बैंक अफ काठमाण्डूले छिमेक लघुवित्तमा नौ प्रतिशत, आरएसडिसीमा १२ प्रतिशत, आरएमडिसी लघुवित्त वित्तीय संस्थामा एक लाख ४८ हजार कित्ता र ग्रामीण विकास लघुवित्तमा एक हजार कित्ता शेयर लगानी गरेको छ  । मेगा बैंकले स्पर्श लघुवित्तमा १६ प्रतिशत र अभियान लघुवित्तमा १६ प्रतिशत लगानी गरेको छ । 

त्यस्तै, प्राइम कमर्सियल बैंकले महिला सहयात्रा लघुवित्तमा १३ प्रतिशत, मेरो माइक्रोफाइनान्समा सात प्रतिशत र स्वाभिमान लघुवित्तमा १४ प्रतिशत लगानी गरेको छ  । हिमालयन बैंकले छिमेक लघुवित्तमा १२ प्रतिशत, स्वाबलम्बन लघुवित्तमा १२ प्रतिशत र निर्धन उत्थान लघुवित्तमा सात प्रतिशत लगानी छ  । 

एनआईसी एसिया बैंकले एनआईसी एसिया लघुवित्तमा ६८ प्रतिशत र मेरो माइक्रोफाइनान्समा सात प्रतिशत लगानी गरेको छ । यता सरकारी बैंक कृषि विकास बैंकले पनि लघुवित्तमा दोहोरो लगानी गरेको पाइएको छ । यस बैंकको डिप्रोक्स लघुवित्तमा सात प्रतिशत र साना किसान लघुवित्तमा २२ प्रतिशत लगानी छ  । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले आशा लघुवित्तमा १० प्रतिशत, नेसनल माइक्रोफाइनान्समा २५ प्रतिशत र स्वाबलम्बनमा १२ दशमलव २ प्रतिशत लगानी गरेको छ । 

साइन रेसुंगा विकास बैंकले चौतारी लघुवित्तमा ५३ हजार पाँच सय कित्ता र खप्तड लघुवित्तमा १५ हजार कित्ता शेयरमा लगानी गरेको पाइएको छ  । गरिमा विकास बैंकले सजिलो लघुवित्तमा एक लाख ३३ हजार कित्ता र आदर्श लघुवित्तमा २४ हजार कित्ता शेयर लगानी गरेको छ  । लुम्बिनी विकास बैंकले नाडेप लघुवित्तमा १० प्रतिशत, डिप्रोक्स लघुवित्तमा १० प्रतिशत र मेरो माइक्रोफाइनान्समा सात प्रतिशत लगानी गरेको छ । 

Advertisement