एक महिनामै ११६ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुनको कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २७ वाणिज्य बैंकहरूले १३ अर्ब ६६ करोड ३० लाख रुपियाँ आर्जन गरेका छन् ।  वाणिज्य बैंकहरूले चालू आवको दोस्रो महिनामा नै उल्लेख्य नाफा कमाएका छन् । बैंकहरूले साउनको तुलनामा भदौमा ११६.४९ प्रतिशतले नाफा बढाउन सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ । साउन मसान्तसम्म बैंकहरुको नाफा ६ अर्ब ३१ करोड १० लाख रुपियाँ थियो भने भदौमा यस्तो नाफा सात अर्ब ३५ करोड २० लाखले बढाउन सफल भएका छन् । 

यस अवधिसम्म आउदा सबै भन्दा धेरै नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो बैंकले भदौ मसान्तसम्ममा एक अर्ब ६ करोड ८८ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यस्तै, सबै भन्दा धेरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको दुई महिनामा ९८ करोड ५२ लाख २१ हजार रुपियाँ नाफा आर्जन गरेको छ । 
 
यस्तै, नबिल बैंकले यो दुई महिनामा ९३ करोड ४५ लाख १० हजार रुपियाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नबिल बैंक सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुका तेस्रो नम्बरमा परेको छ । सबै भन्दा धेरै नाफा कमाउने चौथो बैंकमा एनआईसी एसिया बैंक छ । यस बैंकले यो दुई महिनाको अवधिमा ८१ करोड ६ लाख १० हजार रुपियाँ नाफा कमाएको छ ।
 
 बैैंकहरूको नाफा ८० करोड देखि ५० करोडसम्म 
चालु आवको दुई महिनामा आठ वाणिज्य बैंकले ५० करोड रुपियाँ देखि ८० करोड रुपियाँसम्म नाफा आर्जन गरेका छन् । यो दुई महिनामा कृषि विकास बैंकले ७८ करोड ४८ लाख ९० हजार, सिद्धार्थ बैंक ७५ करोड ५२ लाख ३० हजार, नेपाल इन्भेष्टमेन्ट बैंक ६७ करोड ३० लाख १० हजार , प्राईम कमर्सियल बैंकले ६७ करोड २९ लाख ५० हजार, एभरेष्ट बैंक ५६ करोड ९९लाख ३० हजार, एनएमबी बैंक ५६ करोड ८६ लाख ९०, मेगा बैंकले ५५ करोड ८२ लाख ५० र सानिमा बैंकको ५१ करोड ५१ लाख ४० हजार रुपियाँ नाफा आर्जन गरेका हुन । 

Advertisement

५० करोड देखि ३० करोडसम्म नाफा कमाएका बैंक
चालु आवको दुई महिनामा आठ बैंकले नै ३० करोड रुपियाँ देखि ५० करोड रुपियाँ बराबरको नाफा आर्जन गरेका छन् । यो अवधिमा कुमारी बैंक ४६ करोड १५ लाख ७० हजार , प्रभु बैंक ४३ करोड ७० लाख १० हजार, माछापुच्छ्रे बैंक ४३ करोड ५३ लाख १० हजार, सनराईज बैंक ४२ करोड २७ लाख ७० हजार , लक्ष्मी बैंक ३८ करोड ६२ लाख ९० हजार, स्टान्डर्ड चार्टर्ड बैंक ३७ करोड ५५ लाख २० हजार, सिटिजन्स बैंक ३७ करोड ४१ लाख र एनसिसि बैंकले ३१ करोड ६० लाख ९० हजार रुपियाँ नाफा आर्जन गरेका छन् । 

३० करोडभन्दा कम नाफा आर्जन गर्ने बैंक 
चालु आर्थिक वर्षको दुई महिनामा सबै भन्दा कम नाफा कमाउने बैंक नेपाल बैंक रहेको छ । यस बैंकले दुई महिनाको अवधिसम्म १५ करोड ९४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । सबै भन्दा थोरै नाफा कमाउने दोस्रो बैंक सिभिल बैंक रहेको छ । यस बैंकले चालु आवको दुई महिनामा १९ करोड तीन लाख ७० हजार रुपियाँ नाफा आर्जन गरेको छ । 

यस्तै, सेन्चुरी बैंकले २१ करोड १३ लाख १० हजार रुपियाँ, बैंक अफ काठमाडौंले २१ करोड ६५ लाख ४० हजार रुपिया, नेपाल एसबिआई बैंकले २३ करोड १८ लाख ६० हजार रुपियाँ, हिमालयन बैंकले २६ करोड ४७ लाख २० हजार रुपियाँ र नेपाल बंगलादेश बैंकले २८ करोड ३१ लख २० हजार रुपियाँ नाफा आर्जन गरेका छन् । 


 

Advertisement