नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन को को छन् दौडमा ?

Advertisement

काठमाडौं । धितोपत्र नियमन निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नेतृत्व सम्हाल्न लबिङ सुरु भएको छ । अर्थ मन्त्रालयले यी निकायहरुमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएसँगै लबिङ सुरु भएको हो । 

सर्वोत्तम सिमेन्टको शेयर अनधिकृतरुपमा आफ्ना परिवारका सदस्यको नाममा पास गरेको पाइएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुँगानालाई बर्खास्त गरिएको थियो भने नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए । धितोपत्र बजार नियमन गर्ने निकायहरु नेतृत्वविहीन बन्दा धेरै नीतिगत कामकारवाही अलपत्र परेपछि चाँडै नियुक्ति गर्न दबाब बढेको हो । सोही सन्दर्भमा अर्थ मन्त्रालयले नियुक्तिका लागि समिति बनाउने तयारी गरेको छ । 

Advertisement

यसबीचमा धितोपत्र बोर्ड अध्यक्ष तथा नेप्सेको सीईओ हुन विभिन्न व्यक्तिहरु अर्थमन्त्रीदेखि दलको नेतृत्वसम्म धाउने क्रम जारी छ । अर्थमन्त्रीको सचिवालयका अनुसार अध्यक्ष तथा सीईओ हुन इच्छुकहरुको संख्या बढ्ने क्रममा रहेको र मन्त्रालय प्रतिस्पर्धाकै आधारमा नियुक्ति गराउने पक्षमा रहेको छ । 

धितोपत्र बोर्ड र नेप्सेमा सत्ताधारी दल नेपाली काँग्रेस र अर्थमन्त्रीको पार्टी माओवादी केन्द्रको मुख्य दावी देखिन्छ । अर्थमन्त्री जनार्दन शर्मा सकेसम्म दुवै निकायमा आफ्नै पार्टीनिकटलाई नियुक्ति गर्ने अडानमा छन् । तर काँग्रेस एउटा आफूलाई चाहिने अडानमा छ । भर्खरै एमालेबाट फुटेर बनेको नेकपा एसले पनि ती पदहरुमा दावी प्रस्तुत गरे पनि पाउने संभावना भने कम देखिन्छ । 

बोर्डको अध्यक्षका लागि माओवादी केन्द्रनिकट बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी र एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडका पूर्वसीईओ रमेश घिमिरेलाई प्रवल दावेदाररुपमा हेरिएको छ । अधिकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका टाढाका नातेदार समेत हुन् । कम्पनी कानुन र कम्पनी सेक्रेटरीमा राम्रो ज्ञान हासिल गरेका घिमिरे बोर्डको अध्यक्षमा नभए नेप्सेको सीईओमा समेत आउनसक्ने संभावना रहेको अर्थ मन्त्रालय स्रोतको भनाई छ ।

त्यस्तै, बोर्डको अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं पनि दौडमा छन् । समितिमै फर्किने इच्छा भए पनि समितिमा पद रिक्त नभएकाले उनको आँखा बोर्डमा गएको छ । माओवादी केन्द्रनिकट उनलाई यसअघि समितिमा तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले नियुक्त गरेका थिए । चापागाईंको सक्रियता निकै बढेको देखिन्छ । स्वयम उनले पनि सो कुरालाई अस्वीकार गर्दैनन् । 

यस्तै बोर्डको अध्यक्षको लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी पनि लाइनमा छन् । यसअघि पनि अध्यक्षको दौडमा रहेका उनी अबको चोटीमा पद हात पार्ने योजनामा छन् । काँग्रेसको भागमा बोर्डको नेतृत्व परेको खण्डमा गिरीले पद हात पार्ने बलियो संभावना छ । त्यसबाहेक नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ । नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर इन्साइडर ट्रेडिङ प्रकरणमा मुछिएर नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद समेत बोर्ड अध्यक्ष बन्न इच्छुक देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर दुउवा पत्नी आरजुको राम्रो विश्वास जित्न सफल साउदलाई नेप्सेबाट राजीनामा दिने क्रममा पछि राम्रो ठाउँमा नियुक्ति गरिदिउँला भन्ने आश्वासन दिइएकाले पनि उनी आशावादी बनेका छन् । यद्यपि उनले तत्कालै आफूलाई कसै नियुक्ति खाने इच्छा भने नरहेको दावी गरे । 

Advertisement