Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले शेयर बजारमा भ्रम फैल्याउने आफ्नो कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले शेयर बजारको सन्दर्भमा आफ्नो नाम जोडिएकोमा गुनासो पनि गरे । 

स्वतन्त्र पुँजीबजार सुधार संघले जारी गरेको विज्ञप्तिमा बीमा कम्पनीको शेयरमा मूल्यमा प्रभावित हुनेगरी समितिका अध्यक्ष सिलवालबाट अभिव्यक्ति आएको भन्दै आलोचना गरेका थिए । सिलवालले उक्त आरोपमा सत्यता नरहेको भन्दै शेयर बजारमा भ्रम फैलाउने आफ्नो उद्देश्य नरहेको बताए । 

Advertisement

उनले भने, ‘मैले शेयर बजारबारे त्यस्तो केही पनि बोलेको छैन् । शेयरसँग मेरो कुनै लेनदेन नै छैन् । मैले त बीमाको नियमन गर्ने हो । कम्पनी ऐनबाट आएका कामहरू कानुनसम्मत ढंगले गर्ने हो । बीमा समितिको शेयर हुँदैन । शेयर त कम्पनीको हुन्छ । कम्पनीले शेयर बिक्री गर्छ वा राख्छ, उसले हामीसँग आवश्यकताअनुसार अनुरोध गर्न सक्छन् । शेयरको बारेमा न म जानकार मान्छे हुँ, न मैलै आजसम्म शेयरको बारेमा कुरा गरेको छु ।’

पछिलो समय जलविद्युत बीमामा बढेको बीमाशुल्क पनि जायज रहेको उनको तर्क छ । सिलवालले त्यसमा कुनै घटबढ नहुने स्पष्ट पारे । अब जलविद्युत बीमामा पुनर्बीमा समेटिएको हुने भएकाले शुल्क केही महंगो भए पनि विगतको जस्तो समस्या झेल्नुनपर्ने उनको तर्क छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि नीति निर्देशन जारी गरेजस्तै बीमा क्षेत्रमा पनि समितिले नीति निर्देशन जारी गर्ने भएकाले समितिले तोकेको बीमाशुल्क कसैको दबाबमा हेरफेर नहुने सिलवालले स्पष्ट पारे ।  

उनले पछिल्लो समय नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको विषय पनि गलत हो भन्दै यस विषयमा अफवाह फैलाइएको बताए । सिलवालले नयाँ बीमा कम्पनीका लागि आवेदन आएको सत्य भए पनि लाइसेन्स दिन लागेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे । 

समितिले पछिल्लो समयमा जारी गरेको पुनर्बीमा निर्देशिका निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि)को पृष्टपोषण गर्न भन्ने आरोपमा पनि सत्यता नरहेको उनको भनाई छ । अध्यक्ष सिलवालले समितिका लागि सबै कम्पनी बराबर रहेको बताए । 

साथै, उनले आगामी दिनमा सरकारी बीमा कम्पनी र निजी बीमा कम्पनीलाई काखापाखा नगरी कारबाही गरिने पनि बताए । थप कुराकानी भिडियोमा हेर्नुहोसः 

Advertisement