Advertisement

काठमाडौं । सोनाम तोप्देन, एक युवा तिब्बती गायक, गीतकार र संगीतकार हुन् । उनी कभर गीतहरू गाएर चर्चामा आएका थिए । सोनाम तोप्देनले फेसबुक, युट्युब, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालहमार्फत तिब्बती, हिन्दी, नेपाली र अंग्रेजी भाषामा कभर गीत गाउँदै आएका छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’ सिनेमा हालहरुमा भदौ १७ देखि प्रदर्शनमा आएको छ । उनले यही फिल्मबाट आफ्नो अभिनय यात्रा पनि सुरु गरेका छन् । तोप्देनले यस फिल्ममा आफैले गीत पनि गाएका छन् । यस फिल्मबाट अभिनयमा डेब्यु गरे । सोनाम तोप्देनसँग गायनदेखि अभिनय यात्रासम्मका बारेमा कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

गायक हुनुहुन्थ्यो । अहिले अभिनयमा पनि लाग्नुभयो । किन यतापट्टि रुची लाग्यो ? 
गायक र नायक भनेको एउटै रुखको हाँगा जस्तो हो । किनभने यो दुई कुरासँगै चल्छ जस्तो लाग्छ मलाई । मैले गीत गाउने बेलामा गीतले मात्र हुँदैन, भिडियो पनि गर्नुपर्छ भन्ने लाग्थ्यो । म्यूजिक भिडियो गर्ने बेलामा क्यामेरा फेस गर्दाखेरी एउटा क्यारेक्टर (कलाको पात्र)मा बस्नु भनेको मलाई मज्जा लाग्थ्यो । त्यसपछि मलाई यस्तो फिल्मको प्रस्ताव आउँदा सुरुमा मलाई डर पनि लागेको थियो । सँगै आफूमा एक किसिमको विश्वास पनि लागेको थियो । त्यसैले मैले यो प्रस्तावलाई स्वीकारेर ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरें । फिल्मको प्रतिक्रिया एक्दमै राम्रो आइरहेको छ । दर्शकहरुले मन पराइदिनु भएको छ । मेरो अभिनयलाई पनि रुचाउनु भएको छ । त्यसैले खुसी लागेको छ । मैले दुःख गरेको, संघर्ष गरेको फल पाएको जस्तो महशुस भइरहेको छ । 

Advertisement

गायकबाट अभिनय क्षेत्रमा लाग्दाको चुनौती के कस्तो हुँदो रहेछ ? 
मेरो लागि राम्रो अनुभव भयो । फिल्म कसरी बनाउँदो रहेछ ? भन्ने मैले नजिकबाट हेर्ने मौका पाए । फिल्ममा अभिनय गर्न चुनौतीहरु धेरै हुने रहेछ । तर गायक हुँदा के हुन्छ ? भन्ने सानो टिमले पनि बनाउन सक्छ । राम्रो म्यूजिक भिडियो बनाउन पनि सानो टिमले पुग्छ । छिटो पनि काम सकिन्छ । तर फिल्म बनाउन लामो समय लाग्छ । धेरै लगानी, काम गर्ने मान्छेहरु पनि धेरै चाहिने । महिनौ, वर्षौं लाग्ने रहेछ फिल्म बनाउन । त्यसबाट मलाई फिल्म क्षेत्रमा काम गर्नेहरुप्रति सम्मान बढेर आयो । फिल्म क्षेत्रमा चुनौतीहरु धेरै हुँदो रहेछ । सुत्ने समय थिएन । धेरै यात्रा गर्नु पथ्र्यो । कहिले काहीं सेटमा हुने बेलामा आफ्नो भूमिका नै बिर्सिने पनि हुन्थ्यो । अनि अगाडीको फुटेजहरु हेरेर भूमिका निर्वाह गर्न आउनुपथ्र्यो । त्यस्तो स्थिति पनि भएको थियो मैले खेलेको फिल्म बनाउँदा । मेरो लागि त्यो राम्रो अनुभव पनि रह्यो । 

सानैदेखि नायक बन्छु भन्ने सोच थियो कि संयोगले बन्न पुग्नुभएको हो ?
म सानैदेखि नै अभिनय गर्छु भन्ने थिएन । मेरो इच्छा निर्देशक बन्छु भन्ने चाहिं थियो । तर नायक नै बन्छु भनेर मैले कहिल्यै पनि सोचेको थिइन । मैले गायन क्षेत्रमा राम्रै गरी काम रहेको थिएँ । मेरो काम धेरै व्यक्तिको नजरमा पुग्यो र उहाँहरुलाई लाग्यो कि यो केटामा केही गुण छ । यसले गर्न सक्छ । मप्रति विश्वास आइसकेपछि मलाई फिल्मको अफर आयो । मैले पनि स्वीकार गरें । बिस्तारै हेर्दै जाउँ अब आउने दिनहरुमा के हुन्छ । अभिनय क्षेत्रबाट म अर्को क्षेत्रमा पनि लाग्नसक्छु । सायद म निर्देशक, निर्माता पनि हुन सक्छु भविष्यमा । 

अब आउने दिनहरुमा तपाईं संगीत क्षेत्रमै लाग्नु हुन्छ कि अभिनय क्षेत्रमै निरन्तरता दिनुहुन्छ ?
म गायन र अभिनय दुई कुरालाई सँगसँगै लान चाहान्छु । गायन भनेको मेरो लागि पहिलो कुरा हो । गीत गाएर नै मलाई सबैले चिन्नु भएको हो । त्यसैले गीत गाउन छोड्ने र अभिनयमा आउने त्यो त हुनै सक्दैन् । यो गायन र अभिनय भनेको मेरो दुईवटा खुट्टा जस्तो हो । म दुवै कुरालाई सँगै लिएर जान चाहान्छु । 

गाउन सजिलो लाग्यो कि अभिनय ?
मलाई गीत गाउन सजिलो अभियन गर्नु भन्दा । संगीतमा मेरो धेरै अनुभव छ । अभिनयमा म भर्खर लाग्दै छु । सिक्दै छु । त्यसैले मेरो लागि गायन धेरै सुविधाजनक छ ।

संगीतदेखि अभिनयसम्मको आफ्नो यात्रालाई कसरी हेर्नुभएको छ ?  
संगीतप्रति मेरो सानैदेखि नै रुचि थियो । पढाइमा अलि म कमजोर नै थिएँ सानैदेखि । सायद म पढे्को भए अर्को क्षेत्रमा राम्रो गथ्र्याे होला । मैले सबैभन्दा आफ्नो बारेमा राम्रो कुरा थाहा पाएको भनेको गायनको कला हो । म राम्रो गाउँछु भन्ने मलाई आफूप्रति विश्वास थियो । आफूभित्र भएको कलालाई बाहिर निकाल्न हिम्मत पनि भयो । सन् २०१५ मा विनाशकारी भूकम्प गएको थियो । त्यसपछि मैले गीतहरु गाउन थाले । गीत गाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने क्रम त्यहाँबाट सुरु भएको थियो । त्यसपछि सबै जनाले मलाई चिन्न थाले । मेरो गीतहरु मन पाइदिनुभयो । सामाजिक सञ्जालको पावरका कारण म सबैसँग जोडिने मौका पाए । त्यहाँदेखि सानो–सानो कार्यक्रमहरुमा मलाई बोलाउन थाल्यो । यसरी सानो–सानो कार्यक्रमहरु गर्दागर्दै संसारभरी घुम्ने मौकाहरु पनि पाएँ । विश्वभरको मानिसहरुको अगाडी गीत गाउने मौका पाएँ । त्यसपछि म अहिले फिल्म क्षेत्रको व्यक्तिहरुको नजरमा आएँ । यसरी नै म गायनबाट अभिनयमा आउने सन्दर्भ जोडिएको छ । 

गीत गाउन सुरु गर्दाको दिनहरु कस्तो थियो । कसरी सुरुवात गर्नुभयो ? 
कभर गीतहरू गाएर साङ्गीतिक यात्रा सुरु गरें । कभर गीतहरू गाएर नै मैले काम पनि पाए । विभिन्न ठाउँहरुमा गीत गाउँदा, सुरु सुरुमा मैले धेरै पैसाको माग गर्न मिल्दैन थियो । कुनै कार्यक्रममा जाँदाको बाटो खर्च पनि मैले आफैले नै गर्नु पथ्र्यो । धेरै ठाउँहरुबाट गीत गाएको पैसा दिँदैन्थ्यो । यस्तो किसिमको चुनौतीहरु पनि फेस गर्नुपर्यो । कतिपय कार्यक्रममा मलाई सोझो देखेर हेप्थ्यो । धेरै चोटी मलाई हेप्यो । यस्तोसम्म हुँदा पनि मैले हिम्मत हारिन । हिम्मत गरेर अगाडी बढ्नु नै मेरो लागि ठूलो कुरा हो  । मैले कुनै तालिम लिएको छैन् गीत गाउन । गायनको कला भगवानले नै मलाई उपहार दिएको जस्तो लाग्छ । 

कभर गीतहरू गाउँदा गाउँदै कहिलेदेखि स्टेजमा प्रदर्शन गर्न सुरु गर्नुभयो ?
भारतको बाइलाकुपीमा तिब्बतियन बस्तीमा लोसारको समयमा त्यहाँ बलिउड डान्सिङ स्टार राघव जुयाल र एमजेसँग हजारौं दर्शकहरूको अगाडि मैले पहिलो पटक स्टेजमा प्रस्तुति गरेको थिए । त्यो बेला मैले हिन्दी, तिब्बतियन र नेपाली गीत गायक राजु लामाले गाउनु भएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत गाएको थिएँ । स्टेजमा प्रस्तुति दिने बेला मलाई मनमनै म अरु कलाकारभन्दा सानो छु उमेरमा र दर्शकहरूले मलाई खासै प्रतिक्रिया दिँदैन् होला भन्ने लागेको थियो । म सानो कलाकार हो भन्ने भइरहेको थियो । तर जब मैले आफ्नो प्रस्तुति दिएँ, त्यो बेला दर्शकहरूको यस्तो क्रेज धेरै थियो, म त एकछिन स्तब्ध भए । त्यो बेला खुःसी लागेको थियो । आफूलाई एउटा प्रसिद्ध कलाकारलाई कस्तो अनुभव हुँदोरहेछ भन्ने पहिलो पटक महशुस गर्ने मौका पाएको थिए । त्यो सफल कन्सर्टपछि मैले भारत, नेपाल र स्विट्जरल्याण्डमा धेरै लाइभ कन्सर्टमा प्रस्तुति दिए । मैले अहिलेसम्म एक सय वटा कन्सर्टहरु गरिसकेको छु ।    

आगामी दिनमा के गर्ने योजना छ ? अभिनय गर्ने कि गीत गाउने ?
अर्को प्रोजेक्टहरुमा पनि काम गर्दैछु । आगामी दिनहरुमा पनि दर्शकहरुले मलाई अभिनेता देख्नु हुनेछ । म फिल्म क्षेत्र प्रवेश गरिरहेको छु । निर्देशकहरुको आँखामा पनि म आएको छु भन्ने महशुस भएको छ । 

Advertisement

Advertisement