रेमिटान्स खातामा दिइएको थप एक प्रतिशत ब्याज बैंकहरुबाटै दुरुपयोग

Advertisement

काठमाडौं । विदेशमा काम तथा अध्ययनका लागि गएकाहरुलाई बैंकिङ च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विप्रेषण (रेमिटान्स) पठाउनेहरुको खातामा थप एक प्रतिशत ब्याज सुविधा दिँदै आएकोमा यस्तो सुविधाको बैंकहरुले नै दुरुपयोग गर्ने गरेको पाइएको छ । 

बाहिर बस्नेको नाममा रेमिटान्सको खाता खोल्ने, त्यसमा केही रकम बाहिरबाट आउने, तर करोडौं रुपियाँ स्थानीयरुपमा जम्मा गराइदिने गरेको देखिएको हो । बैंकहरुबाट भइरहेको यो दुरुपयोगमा नेपाल राष्ट्र बैंकले पनि आँखा चिम्लिएको छ । 

Advertisement

हुण्डी कारोबारलाई निरुत्साहित गरी वैधानिक च्यानलबाट रकम पठाउन प्रत्साहित गर्ने उद्देश्यले सुरु गरिएको थप एक प्रतिशत ब्याज सुविधा लक्षित वर्गलाई दिने भन्दा पनि बैंकहरुले निक्षेप बढाउने नाममा स्थानीयस्तरबाटै पछि धेरै रकम जम्मा गर्ने गरिएको हो । यसरी ब्याज दिने क्रममा दुवै पक्षबाट आर्थिक अनियमिततासमेत भएको हुनसक्ने स्रोतको भनाई छ । 

अरु खाताको तुलनामा रेमिटान्स खातामा थप एक प्रतिशत बढी ब्याज पाइने र ठूलो आकारमा रकम जम्मा गर्दा त्यसको ब्याज नै लाखौं रुपियाँमा हुने भएकाले त्यसमा आर्थिक चलखेलको गुञ्जायस स्वाभाविक भएको उनको भनाई छ । यस विषयमा राष्ट्र बैंकदेखि अर्थ मन्त्रालयको बैठकहरुमा समेत कुरा उठे पनि रोक्ने कुरामा भने सबै मौन बसका छन् । 

निक्षेप बढाउने नाममा सुरु भएको यो विकृति अहिले अधिकांश बैंकमा पुगेको छ । यसले गर्दा बैंकको अनावश्यक खर्चसमेत बढेर गएको छ । कुनै पनि दुलो पायो भने बैंकहरु छिरिहाल्छ भन्ने कुरा रेमिटान्स खातामा हुने गरेको बदमासीबाट देखिन्छ भन्दै स्रोतले बैंकहरु सेल्फ डिसिल्निमा नसक्ला धेरै खालको समस्याहरु आउने गरेको बताए । 

तरलता संकट बढेसँगै हुण्डी कारोबारलाई निरुत्साहित गर्न र बैंकिङ च्यानलबाट रकम पठाउन प्रोत्साहित गर्न यस्तो खातामा अर्को एक प्रतिशत ब्याज अर्थमन्त्रालय वा राष्ट्र बैंकले दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ । 

रेमिटान्स खातामा भइरहेको दुरुपयोग रोक्न बैंक खातामा रेमिटान्सवापतको विदेश मुद्रा सिधा आएको हुनुपर्ने शर्त राखिनुपर्ने स्रोतको सुझाव छ । 

Advertisement

Advertisement