घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, नौ महिनामा कति गयो बाहिर ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा नेपालबाट वैधानिकरुपमा पाँच अर्ब ११ करोड ३४ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

यद्यपि, यो गत आवको सोही अवधीको तुलनामा ०.७ प्रतिशतले कम हो । गत आवको सोही अवधीमा नेपालबाट पाँच अर्ब १४ करोड ९९ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो । गत आव भरीमा छ अर्ब ६१ करोड २८ लाख रुपियाँ रेमिटयान्स बाहिरिएको थियो । औपचारिकरुपमा बाहिरिएको रकमको आकार सानो देखिए पनि अनौपचारिकरुपमा बाहिरिने रकम झण्डै तीन खर्ब रहेको अनुमान गरिएको छ ।   

Advertisement

नेपालमा रेमिट्यान्स आप्रवाह उच्च हुने गर्छ । बर्षेनी कुल ग्राहस्थ उत्पादन (जीडीपी)को २३ प्रतिशत बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको देखिन्छ । गत आवमा १२ खर्ब २० अर्ब रुपियाँ नेपाल रेमिट्यान्स भित्रिएको थियो । चालु आवको चैत मसान्तसम्म पनि १० खर्ब ७७ अर्ब ५० करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यतिका रेमिट्यान्स भित्र्याउने मुलुकबाट पनि रेमिट्यान्स बाहिरीने गरेको छ । तर, त्यो रेमिट्यान्स  रकममा आधारमा कम नै छ । 

नेपालमा श्रम स्वीकृत लिएर काम गर्न आएका विदेशी कामदारले कमाएको पैसा आफ्नो देश पठाएका हुन् । उनीहरुले कमाएको पैसा मध्ये ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । बाँकी रकम भने उनीहरुले यहाँ आवास लगायतका शीर्षकमा खर्च गर्नुपर्छ । 

हालसम्म १०० भन्दा बढी देशका २० हजार ६२५ जना कामदारले नेपालमा काम गर्ने स्वीकृती पाएका छन् । तर, त्यसमा कति श्रम इजाजत नवीकरण भयो ? भन्ने तथ्यांक भने बिभागले सार्वजनिक गरेको छैन । 

नेपालमा विशेषगरि चीन, लण्डन, अमेरिका, कोरिया, जापान र भारतबाट धेरै कामदार आउने गर्छन् । पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसैगरि, बिभिन्न पूर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थिति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् । 

साथै, नेपालका कम्पनी, उद्योग, परियोजनाले पनि विदेशबाट प्राविधिक तथा विज्ञ कामदार ल्याएर काम गरिरहेका छन् । अहिले नागढुंगा सुरुङमार्ग निर्माणमा जापानका कामदार कार्यरत छन् । यसैगरि बिभिन्न जलविद्यत् परियोजनामा चिनियाँ कामदार कार्यरत छन् । विदेशी निर्माण कम्पनीले ठेक्का पाएका पूर्वाधार परियोजनामा विदेशी कामदार छन् । 

यसैगरि, विदेशी लगानीका कोकाकला, युनिलिभर नेपाल, डावर नेपाल, एनसेल, स्टायन्डर्ड चार्टड बैंक, एसबीआई बैंक, एलआईसी नेपाल, मेट लाइफ इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स जस्ता कम्पनीमा पनि विदेश कामदार कार्यरत छन् । यो बाहेक नेपाली लगानीकै कम्पनी तथा परियोजनाहरुले विदेशबाट कामदार ल्याएका छन् । 

नेपालमा सबै खाले सीप भएका व्यक्ति हुँदैनन्, त्यो अवस्थामा विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता पनि छन् । त्यो अवस्थामा नेपालबाट बाहिरीने रेमिट्यान्सलाई स्वभाविक मान्ने गरिन्छ । तर, नेपाली श्रमिकले गर्न सक्ने ठाउँमा विदेश कामदार ल्याउन नहुने अर्थविद्हरु जोड दिन्छन् । सामान्य मजदुर समेत विदेशबाट ल्याउनु दुःखद पक्ष भएको विज्ञहरु बताउछन् । 

यद्यपि, नेपालदेखि अनौपचारिक माध्यमबाट पनि रेमिट्यान्स बाहिरिने गरेको  छ । बिशेषगरि, नेपालबाट भारतमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स जाने गर्छ । किनकी, भारतका थुप्रै नागरिक नेपालमा आएर अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरुले श्रम इजाजत पनि लिएका छैनन् । त्यस्ता कामदारले यहाँ कमाएको पैसा औपचारिक माध्यमबाट पठाउन पाउदैनन् । उनीहरुले नगदकै रुपमा आफ्नो देश पैसा पठाउने गर्छन् ।  त्यसरी पनि नेपालबाट भारत जाने रेमिट्यान्स धेरै भएको जानकारहरु बताउछन् । 

Advertisement

Advertisement