नागरिक लगानी कोषसँग एक खर्ब ८४ अर्ब रकम: ‘अब पूर्वाधार विकासमा लगानी गछौं’

Advertisement

रमण नेपाल
नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले २०४८ माघ १ देखि कारोबार सुरू गरी अहिलेको अवस्थामा आईपुग्दा विभिन्न १२ वटा कार्यक्रमहरुमा करीब आठ लाखभन्दा बढी सहभागीहरुलाई आवद्ध गराई आफ्नो सेवा देशभर पुर्याउन सफल भएको छ ।

सरकार, निजी क्षेत्र र सर्वसाधारणको शेयर लगानीमा स्थापित यस कोषको चुक्ता पुँजी तीन अर्ब २७ करोड पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम एक खर्ब ८४ अर्ब ९० करोड रुपियाँ रहेको छ । यो अवधिमा कोषले एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।

Advertisement

कोषका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने सम्भावना भएको संघ संस्थाहरुलाई आवद्ध गर्नु र ती संस्थाहरुको दीर्घकालिन दायित्वलाई व्यवस्थापन गर्न सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय संचालन गरिसकेको छ । योसँगै सुदुरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा शाखा बिस्तारको लागि प्रक्रिया शुरु गरिससक्किएको छ । आगामी वर्ष थप २ वटा शाखा कार्यालय बिस्तार गर्ने कार्यक्रम रहेको छ भने हाल संचालनमा भइरहेका र अब खुल्ने शाखा कार्यालयहरुलाई प्रदेश कार्यालयको रुपमा स्तरवृद्धि गरी संचालन गरिने छ ।

कोषको विद्यमान सूचना प्रविधि प्रणानीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्वेयर संचालनमा ल्याइसकिएको छ । राष्ट्र सेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सीजिएएस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसक्किएको छ भने सम्पूर्ण सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै कोषले प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ भने भुक्तानी प्रणाली कनेक्ट आईपीएसमार्फत हुने व्यवस्था भइसकेको छ ।

कोषको भौतिक पूर्वाधार, मानवीय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संशोधन भइरहेको छ । अतः कोषले आफ्नो संगठनात्मक संरचनालाई अझ चुस्त दुरुस्त र व्यवसायिक बनाउन ऐन नियम कानुनको परिधिभित्र बसेर आफ्नो कार्यलाई अगाडि बढाएको छ । यसै वर्षदेखि नवनिर्मित यस भवनबाट सम्पूर्ण सेवा प्रवाह शुरु गरेको छ भने पहिले कार्यालय रहेको स्थानमा कर्पोरेट भवन बनाउन शहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा नक्सा तयार गर्ने काम सम्पन्न भएको छ । आगामी वर्षदेखि भवन बनाउने कार्य अघि बढाइने छ ।

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले  नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आईसकेको छ । कम्पनीले कोषले ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वमित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्कटक डिलर हो भने यसले पुँजी बजारको विकास, विस्तार र विश्वसनीयतामा महत्वपूर्ण योगदान पुर्याउने छ ।

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यन्वयनमा ल्याइसकेको छ । कोषले आवास कर्जाबापत सहभागीलाई निजको १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपियाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्न सुरु गरिसकेको छ । कोषका कार्यक्रममा श्रीमान र श्रीमती दुवै सहभागी भएको भए सो आवास कर्जा सीमालाई एक करोड रुपियाँसम्म सुविधा प्रदान गर्ने व्यवस्था सुरु गरिसकेको छ ।

विगत लामो समयदेखिको कोभिड १९ को महामारी तथा त्यसको प्रभाव कम गर्न गरिएको लकडाउनका कारण समग्र अर्थतन्त्रमा पर्न गएको प्रभावले नागरिक लगानी कोषलाई पनि केही प्रभाव पारेको थियो । उक्त प्रभावलाई न्यूनीकरण गर्दै कोषको कारोवारलाई विस्तारै पूर्ववतरुपमा संचालनको अवस्थामा ल्याइसक्किएको छ भने हाल अर्थतन्त्रमा देखिएको तरलता अभावको समस्यालाई न्यूनीकरण गर्न कोषले आफ्ने तर्फबाट पनि योगदान पुर्याइरहेको छ ।

साथै, सहभागी तथा शुभेच्छुकहरुबाट प्राप्त भएको अमूल्य सुझाव, सल्लाह र प्रतिक्रियालाई सम्मानका साथ नागरिक लगानी कोषको व्यवस्थापनले स्वीकार गर्ने गरेको छ । कोषले आफूलाई नेपालको समृद्धिको सहयात्रीको रुपमा अघि बढाइरहेको छ । नेपालको आर्थिक वृद्धि एवम नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ दिईरहने छ भन्ने विश्वास दिलाउँन चाहान्छु ।

अन्तमा, यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्ने, दीर्घ सेवा पदक प्राप्त गर्ने कर्मचारीहरुलाई बधाई दिन चाहान्छु । साथै, कोषको वार्षिकोत्सवमा रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाता साथीहरुलाई धन्यवाद दिन चाहान्छु । पुन हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रमुख आतिथ्यको रुपमा यस सभाको शोभा बढाईदिनुभएकोमा माननीय अर्थमन्त्री जनार्दन शर्मा, विशिष्ट पाहुना, संचालक समितिका पदाधिकारीहरु, सम्पूर्ण आमन्त्रित महिला तथा सज्जनवृन्द, पत्रकार मित्रहरु र सम्पूर्ण कर्मचारीहरुलाई पुनः स्वागत अभिवादन एवं नमन गर्दछुु । 

नगरिक लगानी कोषको ३२ औं वार्षिक उत्सवमा कार्यकारी निर्देशक नेपालले दिएको मन्तव्य

Advertisement

Advertisement