स्थानीय चुनाव नजिकिएसँगै विद्यासुन्दरले वृद्धहरुलाई १२ हजार नगद र बिस्कुट बाँड्न थाले

Advertisement

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं महानगरापालिकाका मेयर विद्यासुन्दर शाक्यको सक्रियता बढेर गएको छ । पुनः मेयरमा उठ्ने तयारीमा रहेका उनले उद्घाटन र सामाजिक सेवाका गतिविधिलाई तीब्रता दिएका छन् । 

सोमबार राष्ट्रपति विद्या भण्डारीलाई बोलाएर पुनर्निर्मित काष्ठमण्डप उद्घाटन गरेका शाक्यले ज्येष्ठ नागरिकहरुलाई नगदसहित बिस्कुट वितरण सुरु गरेका छन् । मेट्रो रेलदेखि मोनोरेलसम्मको सपना देखाएर कुनै ठोस काम नगरेको आरोप खेप्दै आएका शाक्यले नगरभित्रका ज्येष्ठ नागरिकलाई नगद र बिस्कुट वितरण गर्न थालेका हुन् । 

Advertisement

‘कोभिडमा फलफूल’ शीर्षकमा अघिल्लो वर्ष एकमुष्ट १२ हजार रुपियाँ र हर्लिक्स समेत ज्येष्ठ नागरिकका घर घरमा पठाएका शाक्यले यसपटक सोही शैलीमा नगदसहित बिस्कुट वितरण गरेका हुन् । वडामार्फत नाम संकलन गरेर यो रकम ज्येष्ठ नागरिकका हातमा पुर्याइने गरेको छ । 

कोटेश्वर निवासी श्यामा डोटेलका अनुसार १२ हजार रुपियाँ नगद र एक हजारको फलफूल भनिए पनि वडाका कर्मचारीले पाँचसय रुपियाँ जतिको बिस्कुट ल्याएर १३ हजारको भपाई लिएर गएको बताए । उनी भन्छिन्, ‘केही गुनासो छ्रैन् । नदिँदा पनि भएकै थियो । सम्झिएर दिए ।’

महानगरपालिकाका एक कर्मचारीले भने वृद्धहरुलाई सम्मानस्वरुप आफूहरुले छुट्टै सहयोग गर्ने नीति रहेअनुसार पैसा दिइएको बताए । ज्येष्ठ नागरिकहरुलाई केन्द्र सरकारले वृद्ध भत्ता दिँदै आए पनि शाक्यले छुट्टै निर्णय गराएर पैसा दिन थालेका हुन् । चुनावको मुखमा पैसा वितरण किन गरिएको भन्ने कुरामा भने ती कर्मचारीले स्पष्ट जवाफ दिएनन् ।                

Advertisement