ब्रेक थ्रु भएको सुनकोशी–मरिन सुरुङ तयार हुन डेढ बर्ष लाग्ने, २०८४ असोजबाट मात्रै सञ्चालन

Advertisement

काठमाडौं । आज (बुधबार) ब्रेक थ्रु भएको सुनकोशी– मरिन डाइभर्सनको सुरुङलाई सञ्चालनका लागि योग्य बनाउन अझै डेढ बर्ष समय लाग्ने छ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको १३.३ किलोमिटर सुरुङलाई आज ‘ब्रेक थ्रु’ गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले टनेल बोरिङ मेसिन (टीबीएम)को स्वीच थिचेर सुरुङको ब्रेक थ्रु गरेका थिए । तर, यो सुरुङ सञ्चालनका लागि योग्य हुन कम्तीमा डेढ बर्ष लाग्ने आयोजना निर्देशक मित्र बरालले बताए । उनले भने, ‘अहिले सुरुङ ब्रेक थ्रु मात्रै गरिएको हो । अब सुरुङलाई पानी बग्नको लागि योग्य बनाउनुपर्छ । त्यसका लागि पहिला त्यहाँको भू–एक्सरे गरिनेछ ।’ 

Advertisement

भू–एक्सरेले सुरुङ र त्यस वरीपरिका जमिनको वास्तविक अवस्था देखाउने छ । त्यसपछि त्यसकै आधारमा सुरुङका भुइँ तथा भित्तालाई ढलान अर्थात् राउन्टिङ गरिनेछ जसलाई सामान्य बोलिचालिको भाषामा ‘फिनिसिङ’ भनिन्छ । यो काम सकिएपछि सुरुङमा परीक्षणको लागि पानी भरिनेछ । परीक्षण सफल भएपछि सुरुङ सञ्चालनको लागि योग्य हुने निर्देशक बरालले बताए । 

यसअघि भेरी–बबईको १२ किलोमिटर लामो डाइभर्सन सुरुङको फिनिसिङको काम गर्न पनि डेढ बर्ष लागेको थियो । त्यो अनुसार यसमा पनि न्यूनतम् डेढ बर्ष समय लाग्ने अनुमान गरिएको छ । यो सुरुङ कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । २०७९ असोज २८ गते टीबीएम मेसिनबाट यो सुरुङ खन्न सुरु गरिएको थियो । त्यसको साढे एक बर्षमा सुरुङ ब्रेक थ्रू भएको हो ।

अबको साढे एक बर्षमा सुरुङ निर्माणको सम्पूर्ण काम सक्किने बताइएको छ । यद्यपि, समग्र परियोजनालाई भने २०८४ असोजबाट सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । तराईका विभिन्न जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाई र ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने गरि यो आयोजना बनाइदैछ । यसमा उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । 

त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ  । जलविद्युतको हेडवक्स, विद्युत् पावरहाउस,  हाइड्रो मेकानिकललगायत संरचना निर्माणको काम पनि अघि बढेको जनाइएको छ । अब इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम सुरु गर्न बाँकी छ । त्यसको  लागि खरीद प्रक्रिया अघि बढाइएको छ । 

समग्रमा २०८४ असोजसम्म यो आयोजना सञ्चालनमा आउने आयोजनाका अधिकारीहरुको अनुमान छ । यसको लागत झण्डै साढे ४९ अर्ब रुपियाँ पुगेको छ । 
सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक)सँग १० अर्ब पाँच करोड ६८ लाख रुपियाँम ठेक्का भएको थियो । जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रोमेकानिकल संरचना निर्माणका पटेल इन्डिया र नेपालको रमण कन्स्ट्रक्सनसँग १२ अर्ब रुपियाँमा ठेक्का सम्झौता भएको छ । 

Advertisement

Advertisement