विश्वकै ठूलो स्टक मार्केट ‘वालस्ट्रिट’को जागिर छोडेर नेपालमा उद्यमशीलता

Advertisement

काठमाडौं। शेयर कारोबार गर्ने अमेरिकाकै शक्तिशाली संस्था ‘वाल स्ट्रिट’ र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरको आकर्षक जागिर छोडेर नेपाल फर्किएका कर्मा तेन्जिङ नेपालको उदयमान र सफल व्यवसायीको रुपमा चिनिन थालेका छन् । 

‘फोर्डह्याम’ विश्वविद्यालयबाट विद्यावारिधि गर्दागर्दैको अवस्था र अमेरिकाको सानको जिन्दगी, जागिर, सुखसयल छोडेर नेपाल फर्किएका उनको उद्देश्य देशभक्ति र आफ्नै देशमा केही राम्रो काम गरौं भन्ने हो । समाजसेवी, शिक्षासेवी हुँदै अहिले पाँच तारे चेन होटल खोलेर होटल व्यवसायी हुन लागेका उनको सफलताको लामो कथा छ ।  

Advertisement

बाबुको बिरासत थाम्दै
कर्माका बाबुले मनाङका बालबालिकालाई पढाउन सन् २०४२ सालमा काठमाडौंको महाराजगन्ज नजिक ‘काठमाडौं भ्याली स्कुल’ खोलेका थिए । पछि बाबुले स्कुल बेच्न खोजे । तर कर्मा तेन्जिङले बेच्न दिएनन् । उनले अहिले आफै स्कुलको प्रधानाध्यापक भएर स्कुल सञ्चालन गर्दै आएका छन् । 

यसबाहेक कर्माले सडक बालबालिकादेखि अनाथ  बालबालिका, वृद्धाश्रमसम्मलाई सहयोग गर्दै आएका छन्  । सडकका कुकुरहरुले दुःख पाएको समेत देख्न नसक्ने उनले त्यस्ता सामुदायिक कुकुरको उद्दार र खानपिनमा पनि सहयोग गर्छन् । कर्माले अहिले डाँडागाउँको अनाथ आश्रमका जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रावृत्ति दिएर पढाइरहेका छन् ।  

उनी २०३५ सालमा जन्मिएका हुन् । चार वर्षको उमेरमा दार्जिलिङको सेन्ट पल बोर्डिङ स्कुलमा पढ्न गएका कर्मा त्यहीं कक्षा १० सम्म पढे । कक्षा ११ र १२ भारतको बिशप कटन स्कूल, सिम्लामा पढे । दार्जिलिङको मःमःको स्वादबाट प्रभावित भएका कर्माले नेपालमा आएपछि पछि मःमः कर्मा नामक क्याफे पनि खोले । 

पढाइको सिलसिलामा उनी सन् १९९८ मा उच्च शिक्षाका लागि  अमेरिका पुगे । अमेरिकाको ‘न्युयोर्क’ विश्वविद्यालयबाट स्नातक गरेपछि ‘फोर्डह्याम’ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै थिए, त्यही क्रममा एबीडी तह पढ्दा पढ्दै उनले संसारकै सबैभन्दा ठूलो शेयर कारोबार हुने अमेरिकी संस्था ‘वालस्ट्रिट’मा काम गर्ने अवसर पाए ।

वाल स्ट्रिटअन्तर्गत इन्भेस्टमेन्ट बैंकिङ कम्पनी ‘लिमन ब्रदर्स’ र ‘मोर्गन स्ट्यान्ल्सी’मा २००२ देखि २०१६ सम्म काम गरेका उनले संसारकै सबैभन्दा ठूलो स्टक मार्केटमा १४ वर्ष बिताए । कर्मा भन्छन, ‘त्यहाँ काम गरिरहँदा नेपाल फर्कन्छु भन्ने लागेकै थिएन।’ 

उनले भने, म ‘एफएक्स समिटर’ नामक दैनिक आर्थिक समाचारपत्रको प्रमुख सम्पादक पनि थिएँ जुन विश्वका ठूला बैंक तथा वित्तीय कम्पनीहरूमा वितरण गरिएको थियो । उनले सन् २०१३ देखि २०१७ सम्म ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा बीबीए र एमबीए तहका विद्यार्थीलाई पढाए । कर्मा अर्थशास्त्रका सहायक प्राध्यापक थिए । 

एक दिन उनले ‘द गार्जियन’ पत्रिकामा विश्वकप २०२२ खेल्न रंगशाला बनाइरहेका नेपाली कामदारले कतारमा भोगिरहेको दुःखबारे समाचार पढे । त्यहाँ कैयन् नेपाली कामदारको मृत्युसमेत हुने गरेको समाचार पढेपछि कर्मा भावुक भए । त्यो झस्काइले उनको जीवन नै मोडिदियो ।कर्माले  २०१३ को अक्टोबरमा त्यहाँ बसोबास गर्दै आइरहेका करिब दुई सय नेपाली र अन्यलाई भेला गरेर ‘इण्ड ह्युमन एक्सप्लोयटेसन इन कतार’ र ‘इण्ड वर्कर स्लेभरी इन कतार’ लेखिएको प्लेकार्ड बोकेर र्याली निकाले । 

न्युयोर्क टाइम्सको कार्यालयदेखि संयुक्त राष्ट्रसंघको कार्यालय हुँदै अमेरिकास्थित कतारको दूतावाससम्म लगिएको उक्त र्यालीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत कभरेज पाएको थियो । उनले विश्वकै पहिलो पिटिसन हस्ताक्षरको आह्वानसमेत गरेका थिए । जसमा न्युयोर्कबाट त्यस समय ३४ हजार मान्छेले हस्ताक्षर गरेको थिए ।

एकातिर सामाजिक काममा संलग्नता बढ्नु, अर्कोतर्फ बाबुले स्कुल बेच्न खोज्नुले गम्भीर बनेका कर्मा अमेरिकी जीवन रोज्ने कि मातृभूमि फर्किएर आमाबाबुको साथमा रहेर स्कुल चलाउने ? भन्ने कुराले केही समय दोधारमा परे । अन्ततः उनले आफ्नै मुलुक फर्किने निर्णय गरे । 

नेपाल फर्किएपछि
कर्माले नेपाल फर्किएपछि बाबुले बेच्न लागेको स्कुल सम्हाले । स्कुल पुनर्निर्माण गरी चार सय विद्यार्थीले भरिएको स्कुलमा तीन सय जनालाई छात्रवृत्तिमै पढाउन थाले । कर्माले दुई वर्षमा साढे दुई करोड  रुपियाँको छात्रवृत्ति प्रदान गरे । नेपाल आएपछि वालस्ट्रिटको जागिरबाट दिएको राजीनामा स्वीकृत भए पनि कलेजले भने राजीनामा स्वीकृत गर्न मानेन् । नमानेपछि सन् २०१७ सम्म एमबीएलाई अनलाइनमै पढाउन सुरु गरे । 

कर्माले स्कुल सञ्चालनसँगै रेस्टुरेन्ट पनि खोले जसको नाम मःमः कर्मा राखे । 

डाँडागाउँ माउन्टेन चिल्ड्रेन्स होममा खाना, पोशाक र पुस्तकको व्यवस्था गर्दै आएका उनले वृद्धाश्रममा खानाको व्यवस्था गर्छन् । साथै दुर्गमको अस्पतालमा औषधि पठाइरहन्छन्। अनाथलाई सहयोग गर्छन् । विगत ७ वर्षमा एक हजार भन्दा बढी छात्रवृत्ति प्रदान गरेका कर्माले भने, ‘वार्षिक लगभग दुई सय जना विद्यार्थीलाई छात्रवृत्ति पाएका छन् । मेरो लक्ष्य यसलाई एक हजार बनाउने हो।

उनले थपे, ‘अहिले मेरो काम देखेर अमेरिकामा रहेका मेरा साथीहरूले पनि नेपाल आएर केही काम गर्ने इच्छा देखाइरहेका छन् ।’ 

चलचित्र निर्माण जुम्ल्याहा दाजुभाई ब्रायन फ्लेन्ट र केभिन फ्लेन्टसँग पनि काम गरेको कर्माले अनुभव छ । अमेरिकामा १८ वर्ष बिताएका उनीसँग जुम्ल्याहा दाजुभाई पछि लागे । कर्माको वृत्तचित्र बन्यो ‘गुड कर्मा एन इमिग्रान्ट स्टोरी ।’ यस वृत्तिचित्रले ‘हलिउड नाउ फिल्म फेस्टिभल २०१८’ मा ‘बेस्ट डकुमेन्ट्री’लगायत सात वटा अवार्ड पनि जित्न सफल भयो । 

काठमाडौं भ्याली स्कुल कस्तो ? 
कर्माले सञ्चालन गर्दै आएको स्कुलले अतिरिक्त–पाठ्यक्रम गतिविधिहरूमार्फत सिकाइ, समग्र शारीरिक र मानसिक विकासलाई बढावा दिने र अध्ययनमैत्री वातावरणमा ध्यान केन्द्रित गर्दै आएको छ।

कर्माको स्कुल यसअघि महाराजगन्जमा थियो । त्यहाँ विद्यार्थीहरु अलि कम भएकोले र आफ्नो सामुदायको बच्चाहरु भएको ठाउँमा जाने सोचका साथ स्वयम्भुमा स्कूल निर्माण करिव सम्पन्न भइसकेको उनले जानकारी दिए ।

स्वयम्भुको सानो भर्याङ पछाडी र राष्ट्रिय निकुञ्जको अगाडी ‘काठमाडौं भ्याली स्कुलको नयाँ भवन छ । नयाँ ठाउँको वातावरण अझ राम्रो रहेको बताउँदै कर्माले नयाँ ठाउँमा ताजा हावा, स्विमिङ पु्ल, बास्केटबल कोच, फुटसल जस्ता सुविधा, मन्टेश्वरीदेखि अध्ययनको व्यवस्था गरेको जानकारी दिए । 

उनले नयाँ भवनमा स्कूल सञ्चालन आइसकेको र भर्ना पनि सुरु भइरहेको बताए । यहाँ पनि दुई सय सय जना विद्यार्थीलाई छात्रवृत्ति दिने उनले बताए । कर्मा भन्छन्, ‘स्कुल भनेको सोसल प्रजेक्ट हो ।’ पूरानो ठाउँको भवन ४० बर्ष पूरानो भएकाले भत्काउनुपर्ने अवस्था आएको बताउँदै उनले सोही कारण नयाँ राम्रो ठाउँ स्कुल सञ्चालन सुरु गरेको बताए । 

उनको स्कुलमा कक्षा ११, १२ मा होटल म्यानेजमेन्ट, टुरिजम म्यानिज्मन्ट, इकोनोमिक्स आदिको पढाइ हुन्छ । नयाँ ठाउँमा पनि विद्याथीहरु सात सयको हाराहारीमा पुगेको उनले बताए । पचास जना शिक्षक र कर्मचारी रहेको काठमाडौं भ्याली स्कुलमा हिमाल आरोहीहरुको छोराछोरी नै धेरै छन् । सन् २०१४, २०१५ मा खुम्बु आइसफलमा ज्यान गुमाएका आरोहीहरुका धेरै छोराछोरी यस स्कुलमा अध्ययन गरिरहेको उनले जानकारी दिए ।  

कर्माका अनुसार स्कुलको छात्रावासमा पनि एक सय भन्दा बढी विद्याथीहरु छन्। उनले आफूले अमेरिकामा जेजे पढे, पढाए र सिके, त्यो नेपालमा पनि लागू गर्न लागेको बताउँदै आफ्नो स्कुलबाट पासआउट् भएर धेरै विद्याथी अहिले काठमाडौंमा ठूलठूलो व्यवसाय गरिरहेका बताए । सोही स्कुलमा पढेकाहरु अमेरिकामा पनि डाक्टर, इन्जिनियर, व्यापारी, नर्स रहेको कर्माको भनाई छ । आफ्ना विद्यार्थीले प्रगति गरेको देख्दा खुशी लाग्ने उनले बताए । 

कक्षा कोठामा २५ जनाभन्दा धेरै विद्याथी नराख्ने काठमाडौं भ्याली स्कुलको नीति पढाइ राम्रो होस् भन्ने हो भन्दै कर्माले स्कुलको निर्माण कार्य सम्पन्न भइसकेपछि अरु सुविधाहरु पनि थप हुने बताए ।

उनको आफ्नै ‘इन्टू द हिमालय’ नामक कम्पनी पनि छ । यो कम्पनीले पर्वतारोहण अभियान र पदयात्रामा काम गर्छं । कर्माले भने, ‘मैले २०२० मा गुड कर्म ग्रुप अफ् कम्पनी सुरु गरें, जसले घरजग्गा, हस्पिटालिटि, शिक्षा र ट्रेकिङ तथा क्लाइमिङको व्यवसाय गर्छ ।’ उनी उक्त ग्रुपका अध्यक्ष हुन् । 

अब कर्मा चाँडै नै होटल र हाउजिङ तथा अपार्टमेन्ट व्यवसायमा समेत प्रवेश गर्दैछन् । उनले पाँच तारे होटल मेरिडियन बनाउँदै छन् । उनका अनुसार यसको सम्झौतासमेत भइसकेको छ । एक सय ७० रुम, एउटा क्यासिनो, दुई वटा रेस्टुराँ, बार र रुफटफ डाइनिङ रुम रहने यो अन्तर्राष्ट्रिय चेन होटल निकै आकर्षक हुनेछ । 

कर्मा पैदलयात्रा, पर्वतारोहणका पारखी पनि हुन् । हालसम्म उनले सगरमाथा, मनास्लु, आकानकागुवा, किलोमान्जारो र अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको आरोहण गरिसकेका छन् । कर्मा ‘अमेरिका–नेपाल फ्रेण्डसिप टिम’ नामक पर्वतारोहण अभियानका टिमका लिडर पनि हुन् । उनले टिमको नेतृत्व गरेर आगामी २ जुनबाट अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को संयुक्त आरोहण गर्ने छ। उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता रहने छ । सातै महादेशका उच्च शिखर पुग्ने उनको सपना छ । 

Advertisement