‘बजेटले रेमिटान्स मात्र नभई विशेषरुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राख्याछ’

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताएका छन् । 

आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सवमा उनले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजी परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताए । शर्माले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगत रुपमा पनि आवश्यक सुधार गरिने बताए । 

Advertisement

मन्त्री शर्माले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताए । उनले भने, ‘जहाँसम्म तरलताको कुरा छ । तरलताका कुराहरुमा केही नीतिगत कुराहरुले पनि काम गरेका छन् । यहाँहरुलाई थाहा छ, म अहिले त्यो व्याख्या गर्न चाहान्न । तिनलाई हामी अब आउने मौद्रिक नीतिले सुधार गर्नुपर्ने छ । राष्ट्र बैंकको प्रतिनिधि पनि यहाँ हुनुहुन्छ । व्यवसायीहरुले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ । मनिटरी पोलिसिमार्फत् सुधार गर्न संभव भएकाहरु सुधार गरिनेछ । त्यतिमात्रै नभएर अब हामी विभिन्न क्षेत्रको लगानी भित्राउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । त्यो लगानी भित्राउने र हामीसँग भएको पुँजीको परिचालन गर्ने कुराबाट तरलतालाई न्यून गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहान्छु ।’

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताए । उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे । 

Advertisement

शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए । उनले भने – ‘यो बजेटले रेमिटान्सको रुपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन् विशेष रुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरु, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन्, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ ।’ 

शर्माले थपे, ‘उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यस हुनाले औद्योगिक उत्पादन र कृषि उत्पादनबाट मात्रै होइन, सेवा निर्यातलाई पनि प्राथमिकता दिएका छौँ । सेवा निर्यातको क्षेत्रमा भएका प्रयासहरुलाई प्रोत्साहन गर्ने गरी त्यस सन्दर्भका कर लगायतका विषयहरुलाई समाधान गरेका छौँ । औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सेवा क्षेत्रबाट सेवा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य लिएको छ ।’

उनले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । उनले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कर्मलाई अगाडी बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए ।