राष्ट्रियसभामा एमालेले अर्थमन्त्री बहिस्कार गर्यो, देशद्रोही अर्थमन्त्रीले राजीनामा दिनुपर्ने तर्क

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । 

तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए । 

Advertisement

उनले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख गरे । उनले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए । श्रेष्ठले भने,  ‘माननीय अर्थमन्त्रीज्यूले बजेट निर्माणजस्तो कुरामा अत्यन्तै संवेदनशील विषय २०७९ साल जेठ १४ गतेको साँझ राति ८ बजेदेखि १२ बजेसम्म अर्थ मन्त्रालयमा बजेट निर्माण गर्ने सवालमा बजेट महाशाखामा बाहिरका अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दायराहरुलाई, राजश्वका दायराहरुलाई जुन दररेट निर्धारण गरिन्छ । त्यसमा गम्भीर त्रुटी गर्नुभएको छ । अर्थ मन्त्रालयमा निश्चित व्यक्तिहरु मात्र जान पाउने परम्परा हामीले मान्दै आएको हो । सांसदहरुलाई पनि प्रवेश निषेध गरिएको हुन्छ । त्यस्तो बजेट निर्माणजस्तो सवालमा अर्थमन्त्रीले जे खालको व्यवहार गर्नुभयो, त्यो देशका लागि अत्यन्तै घातक कुरा हो । देशद्रोही कुरा हो ।’ 

उनले थपे, ‘हामीले बारम्बार संसदमा यो कुरा उठाएका छौँ । तर पनि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभएको छैन । संसदीय छानबिन समिति बनाइयोस् भनेर पनि हामीले माग राख्यौँ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसप्रति कुनै चासो देखाउनु भएन । अर्थ मन्त्रीज्यूले पेस गर्नुभएको यो प्रस्ताव उपर हामी सामेल नहुने नेकपा (एमाले) को संसदीय दलको निर्णय भएको कारणले गर्दाखेरी हामी आजको यो बैठकबाट जबसम्म अर्थमन्त्रीज्यूको राजीनामा आउँदैन तबसम्म हामी उहाँले प्रश्तुत गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने हाम्रो दलको निर्णय भएकाले म यही कुुरा जानकारी गराउँदै यो प्रश्ताव नम्बर १ माथि हामी सामेल नहुनका निम्ति बहिष्कार गरेर हामी बाहिर जादैछौँ यही कुरा म राख्न चाहन्छु ।’

एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्रीद्धारा पेस ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव बहुमतले पारित गरेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरे । 

त्यस्तै, ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भयोे । 

Advertisement

Advertisement