वैदेशिक सहायता २ प्रतिशत मात्रै खर्च हुन्छ, बाँकी सबै फिर्ता जान्छः पूर्वगभर्नर क्षेत्री

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् । आईतवार संसद भवनमा आर्थिक कुटनीति प्रवद्र्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा उनले सांसदहरुलाई वैदेशिक लगानीबारे तालिम  आवश्यक रहेको बताएका हुन् । 

यस विषयमा साँसदहरुलाई दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्नसक्ने क्षेत्रीको दाबी थियो । उनले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग यसका शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए । 

Advertisement

क्षेत्रीले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताए । उनले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश बिस्तारै आत्मनिर्भर हुने बताए । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने बताए । 

उनले भने, ‘एमसीसी ल्याउने की नल्याउने भन्ने विषयमा हामी नेपाली धेरै बाँडियौं । एक थरीले एमसीसी भन्दा गम्भीर किसिमका शर्तहरु मानेर परियोजनाहरु सञ्चालन गरेका छौं भन्ने अर्को थरीले यो भयो भने सर्वनाश हुनसक्छ भन्ने अवस्था थियो । यस्ता कुराहरुलाई लिएर संसदहरुलाई राम्रोसँग दीक्षित गर्न सक्नुपर्छ । हुनसक्ने किसिमका प्रभावहरुलाई उजागर गर्न सकियो भने मुलुकले लक्ष्य निर्धारित गरेअनुसार नै वैदेशिक स्रोत र साधन पनि परिचालन गरेर मुलुकको हीतको निमित्त काम गर्न सकिन्छ ।’ 

क्षेत्रीले नेपालमा अहिले वैदेशिक सहायताका रुपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताए । उनले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताए । वैदेशिक अनुदान नेपालमा नै खर्च गर्नको निमित्त इमान्दारीता, मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गरी क्षमता विकास गर्न आवश्यक रहेको क्षेत्रीले बताए । 
 

Advertisement

Advertisement