भेटन आएका एडीबी महानिर्देशकसँग अर्थमन्त्रीले भने– शिथिल अर्थतन्त्र सुधार्ने प्रयास गर्दैछु

Advertisement

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । 

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार भएको भेटमा पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको बताए । 

Advertisement

गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरु भइरहेको भन्दै पुनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको बताए । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने उनको विश्वास छ । 

उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको पुनले औंल्याए । उनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको बताए । 

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरुसँग निरन्तर संवाद र परामर्श गरिरहेको भन्दै पुनले नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको बताए । 

मन्त्री पुनले १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी एक लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे । पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए । ती सडकहरुको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने पुनको आशा छ । 

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए । यस्तै, उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा एडीबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए ।
 

Advertisement

Advertisement