गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ फर्म र व्यापारीविरुद्ध सरकारले हाल्यो मुद्दा

Advertisement

काठमाडौं । सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ११५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ । मंगलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका ती उद्योग, फर्म तथा व्यापारीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो । 

विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी चार हजार ६६० वटा नमुना संकलन गरेको र संकलित नमूनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको जनाएको छ । अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको छ । 

Advertisement

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना दुषित देखिएको, खाद्यान्न÷दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २२४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको बताए । 

उनले दुषित खाद्य पदार्थ बेचेको अभियोगमा ११५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताए । महर्जनले दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्धा दायर गरिएको बताए ।

त्यस्तै, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्युजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ । गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । 

विभागले तत्काल सम्बोधन टोलीअर्थात र्यापिट रेस्पोन्स टिममार्फत कारबाही लगायत आठ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले गत बर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्ट समेत अनुगमन गरेको थियो । 

Advertisement