Advertisement

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल (हान)सँगको सहकार्यमा कृषि मन्त्रालय र स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा  ‘वाह अलैंची’ अभियान शुरु गरेको छ । 

बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ सन्तोष शाह, यस ‘वाह ! अलैंची’ अभियानका ब्रान्ड एम्बेसेडर हुन् । यो अभियान घरेलु तथा व्यवसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित छ । 

Advertisement

यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ । ‘वाह ! अलैंची’ अभियानको बारेमा यस ‘वाह अलैंची’ अभियानका ब्रान्ड एम्बेसेडर शेफ सन्तोष शाहसँग कपोरेट नेपालले गरेको कुराकानीः

तपाईं यस ‘वाह ! अलैंची’ अभियानको ब्रान्ड एम्बेसेडर हुनु हुन्छ । यसमा तपाईंको भूमिका के हो ?
‘वाह ! अलैंची’ अभियान अहिले हामीले नेपालभरि गरिरहेका छौं । अहिले पहिलो चरणको अभियान सकेर दोस्रो चरणमा छौं । वाह ! अलैंचीको मुख्य उद्देश्य भनेको नेपालमै खपत बडाउनु, विदेशमा पनि यसको निर्यात गर्नु हो । हामीले दोस्रो चरणमा इलामदेखि लिएर ताप्लेजुङ, झापालगायत हरेक ठाउँमा गएर यसको खेती कसरी गर्ने ? उत्पादन कसरी बढाउने ? अलैंची उत्पादन गर्ने प्रक्रिया के हुँदोरहेछ ? अलैंचीलाई अधुनिक तरिकाले कसरी सुकाउने ? जस्ता कुरा लिएर गयौं । अलैंचीबाट बनाइने परिकारहरु खोजी गरेर कहाँ–कहाँ प्रयोग गर्दोरहेछ ? मेरो विशेषज्ञताको प्रयोग गरेर कहाँ–कहाँ प्रयोग गर्न सकिन्छ ? भनेर हामीले ‘वाह ! अलैंची’को किताब पनि बजारमा ल्याउन लागेका छौं जसमा होटल, रेस्टुरेन्टलगायत घरेलु खाना पकाउनका लागि पनि यो उपयोगी हुनेछ । यस किताबमा नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्द्धन गर्न विशेष ६० परिकार रेसिपीहरु तयार पारेका छौं । नेपाली परिकारमा अलैंचीको प्रयोग गर्न सकिन्छ भनेर त्यो किताब बजारमा सार्वजनिक गर्न लागेको हो । अगामी सेप्टेम्बरको २४ तारिखबाट यो बजारमा उपलब्ध हुर्नेछ । यसको मुख्य उद्देश्य भनेको अलैंचीको खपत गर्नु नै हो । यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गरेको छ ।

अलैंचीलाई आन्तरिक बजारमा मात्रै नभएर सक्दो धेरै अन्तर्राष्ट्रिय बजारमा लैजान के गर्नुपर्ला ?
अलैंचीलाई अन्तर्राष्ट्रियस्तरमा लैजानलाई हामीले केही पनि गर्नुपर्दैन् । सरकारले अलिकति निर्यातको लागि व्यवस्था मिलाइदिनुपर्यो । हाम्रो नेपालको ब्रान्डिङ भएकोलाई अन्तर्राष्ट्रिय रुपमा जाने व्यवस्था मिलाइदिनुपर्यो । विश्वमा जति पनि अलैंची चाहिन्छ, त्योमध्ये ५० प्रतिशत हाम्रो देशको अलैंची उपभोग गरिन्छ । नेपालबाट विभिन्न देशहरुमा निर्यात हुन्छ । यसको लागि सरकारले अलिकति नीतिहरु परिवर्तन गरिदिए, धेरै ठाउँहरुमा करहरु लाग्छ होला, सजिलोसँग विमानस्थलसम्म पुगोस । त्यस्तो गर्न सक्यो भने निर्यात अझै बढ्छ ।  

निर्यात बढाउन पनि उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउन के गर्नुपर्ला ?
किसानहरुलाई सहुलियत दिनुपर्छ । वास्तवमा किसानहरुलाई भेटेर उनीहरुको समस्या के कस्तो छ ? बुझ्नुपर्यो सरकारले । किसानहरुलाई अलैंची खेती गर्न के कस्तो समस्या भइरहेको छ ? बुझ्नुपर्यो । सरकारले अलैंची बिक्री र मूल्यको पनि व्यवस्था मिलाइदिनुपर्यो । कुनै बेला प्रतिमन (४० किलो) १ लाख २० हजार रुपियाँसम्म पुगेको अलैंचीको मूल्य अहिले २५–३० हजार रुपियाँमा सीमित भएको छ । घाटामा बेच्नु पर्ने अवस्था छ किसानहरुले । अलैंचीको उत्पादन नेपालमा राम्रोसँग बढाउन सकिन्छ । मात्र किसानहरुको दुःख बुझ्नु पर्यो अलैंचीको निर्यात बढाउनुपर्यो । त्यस्तो गर्दा अलैंचीको उत्पादन बढाउन सकिन्छ नेपालमा । अलैंचीको मूल्य निरन्तर घट्दै जाँदा अलैंची किसानले वैकल्पिक व्यवसायसमेत रोज्न थालिसकेका छन् ।

कस्तो भइरहेको छ, ‘वाह ! अलैंची’ अभियान ?
एकदम राम्रो गइरहेको छ । यो छिटो नतिजा आउने अभियान होइन । विस्तारै यसको २–३ वर्षपछि असर देख्न सकिन्छ । यो दीर्घकालीन अभियान हो । हाम्रो पूर्वमिस नेपाल अनुष्का श्रेष्ठसँग मिलेर स्थानीय डेजर्ट ब्रान्ड ‘माकुसी’मा कुनै एउटा उत्पादन हाम्रो अलैंचीको बनाएर साथमा सहकार्य गर्ने योजना बनाएका छौं । तर हेरम अब के हुन्छ ? सहकार्य गरी काम गर्न मिले राम्रो हुने हो । प्रचार पनि राम्रो हुन्छ । उनीसँग हामी कार्य गर्न खोजिरहेका छौं । साथै, नेपालका व्यवसायिक सेफहरुबीच अलैंचीबाट बनाइने परिकारको प्रतियोगिता गर्न लागेका छौं । सहभागीहरूले दुई जनाको टिम बनाएर कार्यरत होटल र रेस्टुरेन्टको आधिकारिक पत्र र तीन वटा रेसिपिजसहित सेप्टेम्बर ४ तारिखसम्ममा इमेल गरी पठाइसक्नुपर्ने छ । 

Advertisement

Advertisement