विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ हुने भएको छ । 

प्रदर्शनीमा मुलुकका बिभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ । 

Advertisement

यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको संभावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने जनाइएको छ । 

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने जनाइएको छ । 

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ । प्रदर्शनी आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा संचालन गरिने छ ।

यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार ब्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रबिधि र बस्तुको पहिचान एवम् प्रबद्र्धनको माध्यमबाट आर्थिक बिकासमा महत्वपूर्ण योगदान हुने सिएनआईको विश्वास छ । 

प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन् ।
 

Advertisement