मनास्लु हिमालमा प्याराग्लाइडिङको परीक्षण उडान गर्न सरकारले दियो अनुमति

Advertisement

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालमा साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङ उडानको परीक्षण गरिने भएको ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मनास्लुमा प्याराग्लाइडिङको परीक्षण उडानको लागि अनुमति दिएको इलाइट हिमालयन ऐडभेन्चरका सह–संस्थापक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याबु) शेर्पाले जानकारी दिए । 

उनले भने, ‘हामीले नेपालको आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्न अनुमति पायौं । विश्व कीर्तिमानी तथा न्याशनल जियोग्राफी हिरो सानुबाबु सुनवारले यस परियोजनलाई नेतृत्व गर्नेछन् ।’

Advertisement

शेर्पाले यस परियोजनाको मुख्य उद्देश्य मनास्लु एक्सपेडिसनमा प्याराग्लाइडिङको संभावनाको अध्ययन र अनुसन्धान गर्ने, टेक–अफ र अवतरणका लागि उपयुक्त ठाउँहरू निर्धारण गर्न प्राविधिक अध्ययन र परीक्षण गर्ने, अवधारणाहरू उत्पादन, विकास, पदोन्नती गर्ने र अनावरण गर्ने ब्रान्डको ​मूल्याकन गर्ने, अध्ययन र उत्पादनलाई सफल मार्गमा लैजाने रहेको बताए । 

मनास्लु हिमालमा प्याराग्लाइडिङको परीक्षण उडानको टिममा सुनवारसहित, विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याबु) शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा, संयुक्त राष्ट्र वातावरणको नयाँ माउन्टेन हिरो तथा साहसिक खेलाडी माल्कम वुड, स्पेनी प्रो–प्याराग्लाइडर पाइलट तथा एरिअल लेजन्ड होरासियो लोरेन्स, पेशेवर भिडियोग्राफर, फोटोग्राफर र युके–फ्रान्सेली ड्रोन पायलट जेक हल्याण्ड रहेका छन् । 

निर्मल पुर्जा, माल्कम वुड र होरासियो लोरेन्स तीन जनाले सोमबार पहिलो परीक्षणमा ४,९६० मिटर उचाइबाट एक–एक उडान गरेको र उडान राम्रो भएको जनाइएको छ ।

माउन्ट ब्लाङ्क (४,८०७ मिटर) पश्चिमी युरोपको सबैभन्दा अग्लो हिमाल हो । माउन्ट ब्लाङ्कमा प्रति वर्ष पाँच हजार पर्यटक प्याराग्लाइडिङ गर्न जान्छन् । त्यस्तै, प्रतिस्पर्धी देश पाकिस्तानले प्याराग्लाइडिङलाई प्रवर्द्धन गरी नेपालको बजारको शेयर समेत लिइरहेको छ । भारतको हिमाञ्चल प्रदेशले प्याराग्लाइडिङबाट राम्रो आम्दानी गरिरहेको भन्दै ओरोहीहरुले नेपाल मात्रै यसमा पछि परेको बताउँछन् । 

प्याराग्लाइडिङले नेपाललाई कति फाइदा ?
प्याराग्लाइडिङ भनेको कुनै पनि मानिसले चरा जस्तै उड्नु हो र एरियलको दृष्टिकोणबाट प्रकृति अवलोकन गर्नु हो । नेपाल हिमाली देश पनि हो । आफ्नो सौन्दर्यलाई उजागर गर्ने र विश्वभरका साहसिक खेलप्रेमीहरूलाई आकर्षित गर्ने नयाँ अवसरहरू सिर्जना गर्ने उपयुक्त गन्तव्य पनि हो । 

नेपालको अर्थतन्त्रलाई सुधार गर्न र नयाँ रोजगारीका साथै व्यापारका अवसरहरू सिर्जना गर्न पर्यटन क्षेत्रलाई द्रुत गतिमा बढाउनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन्। साहसिक खेलकुदको नयाँ प्रवेशद्वार ‘प्याराग्लाइडिङ इन हिमालयज’ खोलेर वार्षिक २० प्रतिशत नाफा वृद्धि गरी ३० देखि ४० करोड रुपियाँभन्दा बढी आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । 

Advertisement

Advertisement