अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु, सरकारको आठ प्रतिशत अनुदानले यो संभव भयोः अग्रवाल

Advertisement

भैरहवा । अर्घाखाँची सिमेन्ट पनि भारत निर्यात सुरु भएको छ । कम्पनीले सोमबारबाट औपचारिकरुपमा निर्यात सुरु गरेको हो । अर्घाखाँची सिमेन्ट नेपालको ठूलो र स्तरीय उद्योगमध्येमा पर्दछ । यसअघि तानसेन सिमेन्ट पनि भारत निर्यात भएको थियो । 

रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको जानकारी दिएको छ ।

Advertisement

भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरीद गरेको हो । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले भारतीय बजारतर्फ निकासीमा यो आफूहरुको पहिलो कदम भएको बताउँदै सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धी सम्भव भएको बताए । उनले यसले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताए । 

अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताएका छन् । उनले भनेका छन्, ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो ।’

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन् । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको जनाइएको छ । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्ने मुरारकाले बताए । 

सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनले बताए । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो । 

कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ, जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना रहेको बताएको छ । 

Advertisement

Advertisement