नेकपा (बहुमत)निकट फुटपाथ व्यवसायी भन्छन्ः हाम्रो पीडामा नबोल्ने ठूला दललाई भोट नहाले हुन्छ

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट टुक्रिएको उक्त पार्टीनिकट महासंघले मजदुरको हकहीतका लागि भन्दै २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज गरी सर्वपक्षिय श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमिक, मजदुर बिरोधी ठेकेदारी, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लगायतका माग राखेको छ । 

Advertisement

बुधबारको पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विनोद थापाले फुटपाथहरुलाई अमानवीय ढंगले दमन गर्दासमेत ठूला भनिएका दल र सरकार मौन बस्नु मजदुरप्रतिको अवहेलना भएको बताए । उनले अहिलेका ठूला राजनीतिक दलहरु थोत्रा प्रतिवद्धता लिएर जनतामाझ गइरहेको भन्दै जनताले आफ्ना माग पूरा नगरुन्जेल भोट दिनु नहुने बताए । 

थापाले मजदुरलाई उचित व्यवस्थापन नभएसम्म नेताहरुलाई भोट नदिन आग्रह गरे । उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए । उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भए पनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए । 

फुटपाथ व्यवसायी विमला चौलागाईंले बिहान कमाएर बेलुका खानेलाई धेरै समस्या हुनेहरुको उचित व्यवस्थापन नगरी व्यवसाय नै खोस्नु उचित नभएको बताइन् । उनले अरुको रोजीरोटी खोसेर महानगरको समस्या समाधान नहुने भन्दै मेयर शाह मजदुरका लागि सही पात्र नभएको जिकिर गरिन् । 

अर्की फुटपाथ व्यापारी सुनिता कार्कीले मेयर शाहले फुटपाथमा व्यापार गर्नेहरुलाई विचल्ली पारिदिएको बताइन् । उनले महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन वा बेच्न दिने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरिन् । 

फुटपाथ व्यवसायी शर्मिला तामाङले आफूजस्ता मजदुरका लागि गरिखाने एउटै साधन भएका ठेलागाडा भएकाले मजदुरको सही व्यवस्थापन नभई महानगरले ज्यादती गर्न नहुने बताइन् । महासंघले भने दैनिक ज्याला प्रणाली खारेज गरी घण्टा अवधिको १५० रुपियाँ र श्रमिकको न्युनतम मासिक तलव ३० हजार रुपियाँ कायम गर्न माग गरेको छ । 

त्यस्तै ८ घण्टा कार्यावधि घटाइ ५ घण्टा बनाउन, श्रमिकको लागि सहुलियत कार्डको व्यवस्था गर्न, औद्योगिक सुरक्षालगायत श्रमीकबिरोधी विधेयकहरु खारेज गर्न, उद्योग, कलकारखाना, प्रतिष्ठानमा हुने उत्पीडन र ज्यादतीको अन्त्य गर्न, फुटपाथ, सडक तथा स्वरोजगार मजदुरलाई न्यायोचित व्यवस्थापन गर्न आग्रह गरेको छ । 

Advertisement

Advertisement