नेपाल हस्तकला महासंघको ‘हस्तकला व्यापार मेला’ मंसिर २३ देखि होटल हायातमा

Advertisement

काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही आउँदो मंसिर २३ देखि आयोजना गर्ने भएको छ । 

पाँच दिनसम्म चल्ने मेला होटल हायातमा आयोजना हुने र मेलाको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने आयोजकले जानकारी दिएको छ । 

Advertisement

मेलामा १५० स्टल रहनेछन् भने ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा आर्थिक वर्ष २०७८–७९ मा हस्तकला वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई सम्मान गरिनेछ । यस मेलाले स्वदेश तथा विदेशमा उत्पादन भएका उत्कृष्ट सामग्रीहरु ग्राहकमाझ ल्याउन मद्दत गर्ने महासंघको भनाई छ । 

मेलामा ‘मेड इन नेपाल र मेक इन नेपाल’ को अवधारणा प्रस्तुत हुनेछ । हाल नेपाली हस्तकलाका सामग्रीहरु करिब १२ अर्ब रुपियाँ बराबरको मूल्यमा विश्वका ६० भन्दा धेरै देशहरुमा निकासी भइरहेको महासंघको दावी छ । राष्ट्रिय अर्थतन्त्रमा समेत यस उद्योगले २४ अर्ब रुपियाँको हाराहारीमा योगदान पुर्याउँदै आएको बताउँदै महासंघले यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाख रोजगारी रहेको पनि दावी गरेको छ । 

कार्यक्रममा परम्परागत विधाबाट १५ जना तथा समासामयिक विधाबाट १५ जना गरि ३० जना कलाकारहरु सम्मानित हुनेछन् । त्यस्तै, विजेता कलाकारहरुलाई प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार तथा तृतीय पुरस्कार २० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । 

Advertisement

Advertisement